- वसन्त भुजेल
कोरोना भाइरसका आतंकले विश्वनै तहस नहस भयो । मानव जीवनमै थाहा भएसम्मको सबै भन्दा ठूलो महामारी हो यो । यस्ता महामारी पहिला पनि आएका थिए तर विश्वका कुनै पनि कुना बाँकी नरहने गरी आएको थाहा छैन । पृथ्वी नै बस्न योग्य नभएको भान भयो यसपटक ।
महामारीसँग जुध्न हरेक मुलुकले आ–आफ्नो सामथ्र्यले भेटेसम्मको प्रयास गरे । केही मुलुकले भने हदैसम्मको लापरवाही गरे । हदैसम्मको लापरवाही गर्नेमा हाम्रो मुलुक नेपालको नाम पनि दरियो । पहिलो कुरा त कोराना नियन्त्रण तथा लक्षणको उपचारका लागि स्वास्थ्य सामाग्री आयातमा समेत ठूलो भ्रष्टाचार भएको समाचार आयो । यहाँ भन्दा ठूलो निर्लज्जता अर्को हुनै सक्दैन । आफ्नो मुलुक माथि यति ठूलो अपराध गर्न सक्ने राजनीतिकर्मी पनि ईश्वरले सृष्टि गरेका रहेछन् भन्ने देखियो । दोस्रो कुरा छिमेकी मुलुक भारतबाट स्वदेश फर्कनेहरुले पाउनसम्म सास्ती पाए, कतिपयको त अरु नै रोगका कारण क्वारेन्टाइनमै मृत्यु भयो । संक्रमितहरुले उपचारको सुविधा पाएनन् । बेहोस नभएसम्म अस्पताल नजानु भनेर सरकारलै नै उर्दी जारी गर्यो ।
कोरोना नियन्त्रणका लागि लकडाउनलाई विश्वले नै वाध्यात्मक विकल्पका रुपमा अघि सार्यो । नेपालसँग अर्को विकल्प हुने कुरै थिएन, तर लकडाउनका क्रममा सरकार यतिसम्म लापरवाही देखियोकी कतिपय मजदुरहरु खानै नपाएर मरे । आफ्नो घर फर्कन महिनौ सम्म पैदल हिँडेका मजदुरहरु बाटैमा मरे । भारतबाट फर्केका मजदुरहरु महाकाली नदीमा हेलिएर मरेको समाचार पनि आए ।
मौका पाए भने विदेशीहरुले नेपाललाई कतिसम्म हेप्दा रहेछन् ? भन्ने ज्वलन्त उदाहरण २०७७ साल बैशाखको सुरुवातमै देखियो । सन्दिग्ध केही चिनियाँ नागरिकहरुले हुल हुज्जत गर्दै निषेधित क्षेत्र तोडे । यसक्रममा उनीहरुले आक्रमण गरी एसपी सहित हाम्रा दर्जनौ सुरक्षाकर्मीलाई घाइते बनाए । रहस्यमय कुरा के भने विरोध प्रदर्शनमा उत्रने चिनियाँ नागरिकहरुको संख्या जम्मा ४७ जना थियो । उनीहरुलाई रोक्न डिएसपी हरिवहादुर बस्नेतको कमाण्डमा करिव २ सय प्रहरी तैनाथ थिए । तर ४ जना चिनियाँहरुले एक दर्जन प्रहरीलाई चुड्कीका भरमा घाइते बनाइदिए । कमाण्डो तालिम प्राप्त हाम्रा प्रहरीलाई यसरी चुड्कीका भरमा घाइते बनाइदिन सक्ने चिनियाँहरु को थिए ? सर्वसाधारण नागरिक मात्रै थिए त ? भन्ने तर्फ नेपालमा मिडिया समेत बेखवर रहे । कोरोना कहरको मौका छोपी दक्षिणको छिमेकी राष्ट्र भारतले नेपालको भूमि हुँदै चीन जोड्ने सडक युद्ध स्तरमा निर्माण गरी उद्घाटन समेत गर्यो ।
सकरात्मक पक्ष
कोरोनाको कहरका कारण उत्पन्न संकटलाई थाति राखेर अन्य गतिविधि विश्लेषण गर्दा नेपालका लागि २०७७ साल कस्तो रह्यो ? भन्ने प्रश्नको छोटो विश्लेषण गर्नु सान्दर्भीक हुनेछ । विगत २३ वर्षदेखि प्रतिक्षा गरिएको मेलम्ची खानेपानी आयोजना सम्पन्न भयो । राजधानी काठमाडौंका जनताले मेलम्चीको पानी खान पाए । भुकम्पले ढलेको धरहरा ठडियो । रानीपोखरी पुननिर्माण सम्पन्न भयो ।
सुनकोशी मरिन ड्राइभर्सन बहुउद्देस्यीय परियोजनाको शिलान्यास भयो । यो परियोजना समयमै सम्पन्न हुने हो भने मुलुकले कृषि क्षेत्रमा ठूलै फड्को मार्नेछ । अपराधीहरु पत्ता लगाउने मामिलामा नेपाल प्रहरी धेरै हदसम्म सफल भएको देखियो । २०३१ साल देखि छुटाएको लिम्पियाधुरा क्षेत्रको नक्शालाई समावेश गरेर नेपाल सरकारले साविककै नक्शा जारी गर्यो । प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमी सक्कली अयोध्या नेपालको माडी तथा ठोरी क्षेत्रमा भएको यर्थाथतालाई निर्भिकता पूर्वक उजागर गरे । कोरोनाको खोपका सन्दर्भमा पनि विश्वका विकसित राष्ट्रहरुकै हाराहारीमा जेष्ठ नागरिक, स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी लगायतलाई खोप उपलव्ध गराउने सफलता नेपाल सरकारलाई प्राप्त भयो ।
नकरात्मक पक्ष
तराई–मधेसलाई एक घण्टाको ड्राइभिङमै राजधानी काठमाडौंसँग जोड्ने राष्ट्रिय गौरवका परियोजना द्रुत मार्ग विवादमा फसेको छ । नेपाली सेनाको साँखमा ठूलो प्रश्न उठेको छ । हुलाकी राजमार्ग, गौतमबुद्ध बिमानस्थल, निजगड अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग, बुडीगण्डकी जलविद्युत आयोजनाले गतिलिन सकेनन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजना पनि यो वर्ष सम्पन्न हुन सकेन ।
२०७७ सालभरीमा राष्ट्रिय प्रणालीमा कूल एक हजार मेगावाट विद्युत् थप हुने लक्ष्य राखिएकोमा १ सय ५० मेगावाट मात्रै थप भयो । जनकपुर जयनगर रुटमा संचालन गर्न ल्याइएका दुई वटा रेललाई विगत ६ महीनादेखि पहेलो त्रिपालले छोपेर राखिएको छ । प्रधानमन्त्री ओलीले पानी जहाज, चुच्चे रेल र घरघरमा ग्याँस पाइपको भाषण गर्न छाडेका छन् ।

यसै वर्ष अमेरिकन सहयोग कार्यक्रम (एमसिसी) विवादमा मात्रै नभई द्विविधामा पर्यो । ऊर्जा र सडक जस्ता भौतिक पूर्वाधारमा लगानी गर्न अमेरिकाले उपलब्ध गराएको ५१ अर्ब र नेपाल सरकारको १३ अर्बसहित ६४ अर्बको सो परियोजना राजनीतिक रूपमा विवादमा पर्यो । सो परियोजनाअन्तर्गत आगामी पाँच वर्षमा झण्डै २ सय १० किलोमिटर लामो प्रसारण लाइन र १ सय किलोमिटर सडक मर्मत गर्ने लक्ष्य राखिएको छ । एमसिसि तुहिनु भनेको नेपालका लागि अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगको ढोका बन्द हुनु हो भन्ने कुरा कम्युनिष्टहरुले बुझेनन् ।
नेपालको राजनीति संकट २०७७ सालमा निकै पेचिलो बन्यो । प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र समाप्त गर्ने प्रयास गरे । जसका कारण करिव दुई तिहाई बहुमत सहितको सत्तारुढ पार्टी विभाजन भयो । अदालतले सुझबुझ नपुर्याइदिएको हुन्थ्यो भने लोकतन्त्र नबाच्ने रहेछ । लोकतन्त्र समाप्त गर्दै अधिनायकबाद लाद्ने प्रयासका लागि प्रधानमन्त्री ओलीबाट के के कर्तुतहरु भए ? भन्ने कुराको फेहरिस्त निकै लामो छ । यो फेहरिस्त आगामी अंकमा प्रस्तुत गर्नेछु ।
भ्रष्टाचारको मामिलामा नेपाल सबै भन्दा खराव राष्ट्र भएको प्रतिवेदन ट्रान्सपरेन्सी इन्टरनेशनलबाट जारी भयो । राजधानी काठमाडौं विश्वकै सबै भन्दा बढी प्रदुषित शहरको सूचिमा पर्यो । १ सय ५० एक्युआई सम्मलाई खतराको सूचिमा राखिएकोमा काठमाडौं उपत्यकाको वायुप्रदुषण ५ सय एक्युआई नाघ्यो । बलात्कार तथा हत्याको मामिलामा नेपाल विश्वकै नंम्बर १ राष्ट्र बन्यो । चोरलाई चौतारी र साधुलाई शुली भन्ने उखान चरितार्थ भयो ।
अन्तर्राष्ट्रिय गतिविधि
२०७७ सालमा विश्वले महानफुटवल खेलाडी म्याराडोनालाई गुमाउनु पर्यो । फुटबलका सर्वमान्य महान खेलाडी डिएगो म्यारोडोनालाई यसै वर्ष गुमाउनु पर्यो । उनले सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाएका थिए । सन् २००० मा फिफाले मतदान गराउदा फुटबल हस्ती म्यारोडोना शताब्दीको सर्वोत्कृष्ट खेलाडीका रूपमा चयन भएका थिए । खेल जगतमा कतिपयले उनलाई फुटबलमयी खेलाडी र भगवान समेतको संज्ञा दिने गरेका छन् । म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौँ खेलप्रेमी स्तब्ध भएका थिए ।
नेपाललाई मायाँ गर्ने बेलयाती राजकुमार फिलिपको ९१ वर्षको उमेरमा निधन भयो । नेपालसँग पुरानो सम्वन्ध रहेको बर्मा ( म्यानमार) मा लोकतन्त्र अपहरण भई सैनिक शासन लागु भयो ।
यसैगरी संयुक्त राज्य अमेरिकामा समेत लोकतन्त्र संकटमा पर्छकी जस्तो बन्यो । बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प आफै आतंककारी गतिविधिमा उत्रे, तर अमेरिकी जनताले लोकतन्त्र बचाए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको सुरुवातदेखि नै चर्चामा रहेपनि यस वर्ष कार्यकाल नवीकरण गर्ने वर्ष भएकाले पनि बढी चर्चा भयो । गत नोभेम्बर ३ मा भएको निर्वाचनबाट कार्यकाल लम्ब्याउन नसकेपनि उनले निर्वाचनको बेलाको आरोप प्रत्यारोप, मास्क बहिस्कार, कोरोनाप्रतिको उनको दृष्टिकोणलगायतका कारणले उनी चर्चाको केन्द्रमा नै रहे । दोस्रो कार्यकाल गर्न नपाउने दुर्लभ राष्ट्रपतिको रुपमा उनलाई यस वर्षले टुंगो लगायो । उनलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन निर्वाचित भए । निर्वाचनपछि पनि उनले नतिजा अस्वीकार गरेर थप चर्चा बटुले ।
यसैगरी लामो विवाद र रस्साकस्सी हुँदै युरोपेली संघबाट बेलायत बाहिरिएको छ । जनवरी ३१ मा बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको हो । पछिल्लो तीन वर्षदेखि युरोपेली संघबाट बाहिरिने प्रक्रिया अन्यौलमा परेको थियो । यूरोपेली संघबाट बाहिरिएपछि अहिले ब्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ ।
यस वर्षका विश्वव्यापी चर्चित घटना मध्ये सलह आतंक पनि एक हो । विषेशगरेर दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो । कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य संकट आउने सम्मको विश्लेषण गरिएको थियो । सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको सलह नै एक वर्षपछि साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान भित्रिएको थियो । त्यसपछि पाकिस्तानमा ठूलो क्षति पुर्याउँदै भारत हुँदै नेपाल छिरेको थियो । यसले यी देशहरुको कृषिमा ठूलो क्षति गरेको छ । तर नेपालमा भने खासै क्षति गर्न पाएन ।
यस वर्षको सवैभन्दा ठूलो घटना भनेकै कोरोना महामारी हो । ठूलो उपलव्धी भनेकै कोरोना विरुद्धको खोप पत्ता लाग्नु हो । यो यस वर्षको मात्रै नभई यस युगकै ठूलो घटनाको रूपमा रहनेछ । कोरोनाको सर्वव्यापी र सर्वपक्षीय क्षतिको कुनै हिसाव किताव गरेर नै सम्भव छैन । तर मानवीय र आर्थिक क्षतिको मात्रै बढी चर्चा भएको छ । कोरोनाका कारण अहिलेसम्म ३० लाख भन्दा बढीको मृत्यु भएको छ । आर्थिक क्षतिको पनि भरपर्दो विवरण अझै आएको छैन । महामारी चलिरहेकै बेलामा गत नोभेम्बर ८ तारिखदेखि कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ ।
समग्रमा यस वर्ष अविस्मरणीय छ । २०७८ सालमा यस्ता संकट बेहोर्नु नपरोस । कोरोना कहरवाट विश्वले मुक्ति पाओस् । दोश्रो विश्वयूद्धपछिको विश्वमा यस्तो बन्द अनि शून्यता कहिल्यै भएको थिएन । ईटाली, स्पेन, अमेरिका, ईरान, चीन बाट क्रमश कोरोना कहर ईण्डोनेशीया, भारत लगायत अन्य एसियाली देशहरुमा आइरहेको छ, पश्चिमा देशहरुले समेत घुँडा टेकेका कोरोना कहरमा एसियाली देशहरुले कसरी सामना गर्ने हुन्, सर्वत्र चिन्ताको विषय छ । आँउदो वर्षले आशा र न्याय दिनेछ, निर्मलाले न्याय पाउनेछिन्, मेलम्ची काठमाण्डौ आउनेछ, नेपालीहरु जीवन धान्न बिदेश जानुपर्ने छैन, भ्रष्टाचार रोकिनेछ जस्ता कैयन आशाहरु यस वर्षले अपूर्ण छाड्ने छैन भन्ने हार्दिक कामना ।