कसले मन्त्री बनायो तपाईलाई ?

| 2023 Sep 17 | 07:16 pm 2637

– दुर्गादेवी मगर

‘‘थाहा खबर” मा एउटा समाचार आयो ‘‘सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि मन्त्री लामाको आपत्ती” । धत्तेरी यस्तो नामर्द मन्त्री ! को रहेछ भनेर हेरेको त वाग्मती प्रदेश सरकारका उर्जा मन्त्री तिर्थ बहादुर लामा । आपत्तीको विषय रहेछ एक केजी सुन तस्करीमा आफ्नो नाम जोडिएको सन्देश । मन्त्री जी ! तपाईलाई थाहा छैन ? तपाई कुन धरातलमा हुनुहुन्छ ? कुन देशको मन्त्री हुनुहुन्छ ? हुनत तपाई प्रदेशको मन्त्री भएर डराएको होला केन्द्रको मन्त्री हुने बेला तपाईको भैसकेको रहेनछ । तपाईले सुन्नु भएको छ ? केन्द्रका मन्त्रीहरु कति महसुर, साहसी, निडर, आत्मविश्वास भएका छन् भनेर । एमाले अध्यक्ष केपी शर्मा ओलीका अत्यन्त निकट मानिने तत्कालिन संचारमन्त्री गोकुल बास्कोटालाई हेर्नुस त । ठेक्का मिलाउने सत्तरी करोडको भ्रष्टाचारको केस । निडर भएकै हुनाले उनले ढुक्कसँग भनेका थिए सत्तरी करोड खाएकै हो, पचाएकै हो कसले के गर्न सक्छ गरेर देखाउन । कसैले देखाउन सके त ? सबै हुतिहारा सावित भए । कसैले केही भन्न सकेको देखिएन ।

अब हेरौं सिआइबीले गरेको सुन प्रकरणको कुरा । एकसय किलो भनेर छानविन शुरु गरेको दुइ हप्ता नबित्दै त्यो घटेर ६० किलो भयो रे । त्यसमा कसैले खोजे ४० किलो को हिसाब ? एक वर्षमा ३६२ किलो सुन तस्करी भएको भनि सिआइबीले सार्वजनिक गरेको देखियो । १ वर्षमा ३६५ दिन हुन्छ । ३६२ किलोमा ३ किलो थपिएको भए सरदर दिनको १ किलो पर्ने थियो धन्न ३ किलो कम भएछ । सायद त्यही पुर्ती गर्ने क्रममा थप १ किलो सुन तस्करी भएकोले तपाई डराएको हो कि ? जाबो १ किलो सुनमा नाम जोडिएको भनेर आफुलाई नालायक सावित गर्न त भएन नि !
तपाईलाई थाहै रहेनछ नेपाल कस्तो देश भनेर । कस्ले बनायो तपाईलाई मन्त्री ति पनि नालायक नै रहेछन् । माओवादीले शान्ती सम्झौतामा आँउदा सरकारलाई बुझाउनुपर्ने बन्दुक र हातहतियार अत्यन्त न्युन संख्यामा मात्र बुझाएको र यस सम्बन्धमा बाँकी बन्दुक र हातहतियारको बारेमा बुझ्दा माओवादीले खोलाले बगाएको भनेर दिएको जवाफमा सरकारले ‘‘खोई खोला भन्दा माओवादीले स्याम्मै सुक्यो” भन्ने किसीमले दिएको अभिव्यक्तिमा पनि खोला खोज्ने काम त भएन न त कुनै पनि खोलामा ति हातहतियार फेला परेको खबर पछि सम्म पनि नपाएको भन्ने सबैलाई जानकारी भएकै विषय हो ।

मन्त्री जी ! अब तपाई यस्तो जाबो सुन, बन्दुक, हातहतियारका कुरा छोड्नुस । कमरेड प्रचण्ड त्यसै प्रधानमन्त्री भएका होइनन् । उनी तपाई जस्तै डरछेरुवा भएको भए अहिलेसम्म जंगलमै हुन्थे होला । उनले त टुडिंखेलमा त्यत्रो ठूलो जनसभा मै भनिदिएका हुन नि जनयुद्धका बेला मारिएका १७ हजारमध्ये ५ हजारको भाग त उनी पछिका बाबुराम भट्टराई, कृष्ण बहादुर महरा, जनार्दन शर्मा, राम बहादुर बादल, नन्द बहादुर पुन, वर्षमान पुन अग्नि सापकोटा आदि नेताहरुले पनि पाउनु पर्यो नि नत्र प्रचण्ड बाहेक बाँकी सबै नालायक ठहरिने भए । ५ हजारको जिम्मा लिए बापत उनी प्रधानमन्त्री भए भने बाँकीले आफ्नो जिम्मेवारी अनुसार उपप्रधान मन्त्री, साभामुख, मन्त्री, सांसद, राजदुत लगाएत पदहरु पाएकै छन नि त्यतिले नि नपुगेर थप त्याग गर्नेहरुले गक्ष अनुसार सुनको भाग, विदेशी रकम, हाइड्रो पावरको भाग र अन्य विशाल भवनहरुको भाग पनि पाएकै रहेछन् ।

जंगलमा बसेर बिज्ञ बनिसकेका माओवादीलाई थाहा भएकै विषय होकि कुन ठाउँमा गोली पड्काएर मान्छेको ध्यान आकर्षण गरि कुन महत्वपुर्ण ठाउँमा बम हान्नुपर्छ भन्ने कुरा । त्यसैले ललिता निवास नामको किर्ते बन्दुक पड्काएर एयरपोर्टबाट सद्धे सुन भित्राउन यिनलाई केहि सोचिरहन परेन । आरजु राणा, मंजु खाँण, केपी शर्मा  ओली, राधिका शाक्य र राजेश बज्राचार्य तर्फ बन्दुक फर्काएर आफ्नो कुर्सी तर्फ नजर नलागाउनका लागि तर्साउन पनि समय लागेन ।
हुन त यिनका गुरु पनि केपी शर्मा ओली नै रहेछन् जस्ले २०२८ सालमा गरेको झापा काण्डबाट आफुलाई राजनितिक आवरणमा देखाई प्रधानमन्त्री हुन समेत सफल भए र यसैको सिको गर्दै नेपालमा बहुदल आइसकेपछि प्रचण्डहरु जंगल पसेका हुन । विद्यावारिधि गरिसकेको हुँदा केपी शर्मा ओलीले जंगल पस्न परेन प्रचण्ड भने विद्यावारिधिको लागि जंगल पस्न पर्ने अवस्था पर्यो ।

अहिलेका गृह मन्त्रीको रुप नै हेरौं न कति मिठो भाषण गर्छन उनको भाषणमा भ्रष्टचार दिनभरि उन्मुलन भएको हुन्छ जब राती हुन्छ अनि भ्रष्टाचारी उठेर आफ्नो रुप देखाउन थाल्छन । यस्का रुप अनेक देखिन्छन् जस्तैः– सुन तस्करी, तेस्रो मुलुकबाट आयातित सामानको तस्करी, हुण्डी, कालोबजारी आदि आदि र यतिले पनि नपुगेर कतिपय अवस्थामा मन्त्रीपरिषद् बाटै निर्णय गराई नितिगत नाम दिई गरिने कार्यहरु ।

कतिपय अवस्थामा त ति मारिएका १७ हजार दिवंगतहरुलाई संझिदा भ्रष्टाचार, तस्करी, कालोबजारी आदि जस्ता कुरा गौण नै हुन पुग्दछन् । हत्या हिंसा भन्दा त यि सानै अपराध हुन नि । भरखरकै कुरा हेर्नुस काठमाडौंको मध्य भागमा रहेको तिनकुनेमा चार जनाको विभत्स हत्या भयो फेरी त्यसै दिन रौतहटमा अर्को एक युवकको हत्या भएको खबर पनि आयो । हत्या हिंसा बलत्कार जस्ता कुरा अहिले दैनिकि जस्तै भैसके । अनि यस्ता खबरको अगाडि सुन, सुपाडी, गिरिबन्धु टि स्टेट बेच्न ऐन नै संसोधन गरेर २ अर्ब कुम्ल्याएको जस्ता कुराले के अर्थ राख्छ र ? एयरपोर्टबाट भएको सुन तस्करीलाई सहज बनाउन र ध्यान अन्यत्र मोड्न ललिता निवास नामको दुहुनो गाईको प्रयोग त अत्यन्त सानो भैसक्यो जस्लाई जसरी प्रयोग गरे पनि हुने । अब त यस्लाई यति सस्तो बनाइयो कि भोलीका दिनमा प्रहरी चौकीले अनि पर्सि नगरपालिकाले ललिता निवास भनि जस्लाई जतिबेला थुने पनि हुने भयो । यस्का कोहि मा–बाप त छैन ।
ललिता निवास संझिदा मलाई अर्को एउटा घतलाग्दो विषयको स्मरण भयो– सिआइबीले चलाएको यहि मुद्दाको प्रकरणमा पुर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराई साक्षी बसे रे । साक्षी भनेको ‘‘देखि जान्ने, सुनि जान्ने” यिनलाई भोली अदालतमा कुनै पनि अभियुक्तले जिरह गर्न त सक्लान नि–नक्कली मोहि बनाइ रहदा र भ्रष्टाचारजन्य कार्य भैरहदा देखिजान्ने त यिनै प्रधानमन्त्रीहरु रहेछन् भनेपछि यिनले त्यसबेला नक्कली र किर्ते काम गरेको प्रष्ट देखेका रहेछन् भनि बुझ्नु पर्ने भयो भने तत्कालिन मुख्य सचिव लिलामणी पौडेलले त मुख्य सचिवको पदलाई नै खरिदार तहमा परिणत गरिसकेका रहेछन् । धन्य हो मेरो देश ।
अब प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका तर्फ गएका छन्–स्वकीय सचिव छोरी र सुरक्षा गार्डहरु समेत । विश्वलाई राजनितिक रुपमा राज्य संचालनको फर्मुला सिकाइ आउने होलान् । आँटि मर्दहरुको जय होस । लामा जस्ता डरछेरुवा मन्त्री हामीलाई चाहिदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.