करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने सरोकारवालाहरूकाे माग

रिपोर्ट नेपाल | 2018 Aug 20 | 03:05 pm 2096

बुटवल,भदौ ४ : सरकारले लगाएको कर अवैज्ञानिक र चर्को भएकोले वैज्ञानिक ढङ्गबाट कर समायोजन गर्न सरोकारवालाहरूले माग गरेका छन् । उनीहरूले प्रदेश र स्थानीय सरकारले वृद्धि गरेको करले सर्वसाधारण मारमा परेकोले करको दर नभई दायरा बढाउनुपर्ने बताए । करलाई वैज्ञानिक र व्यवहारिक बनाउनु पर्ने माग गरे ।

रिपोर्टर्स क्लब प्रदेश पाँचले आज बुटवलमा आयोजनाका गरेको साक्षात्कार कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले मुलुकमा वित्तीय संघीयता अवलम्बन गरेको स्मरण गराउँदै करको बारेमा सचेतनामुलक शिक्षा जरुरी रहेको बताए ।

संघीयतालार्इ खराब भन्न थालिएको छ यसलाई व्यवस्थित गर्न जरुरी रहेको बताए । उनले भर्ने,’ कानुन विपरीत कतिपय नगरपालिकाहरूमा शुल्क लिइएको हल्ला सुनिएको छ यदि त्यस्तो रहेछ भने प्रदेश ५ सरकारले यसलाई नियमन गर्दछ ।’

उनले देशमा नयाँ नीति लिँदा अलिक महँगो हुनु स्वाभाविक भएकोले सङ्घीयताको अहिले नै मुल्यांकन गर्न नहुने बताए । यसलाई सही मार्गमा लैजानको लागि सबै पक्ष जिम्बेबार हुनुपर्ने बताए ।

छत्रदेव गाउँपालिका अर्घाखाँचीका अध्यक्ष लेखनाथ पोखरेलले स्थानीय तहमा पनि फरक फरक नीति देखिएको बताए । उनले केही नगर र गाउँपालिकाहरू कारणले सबै स्थानीय तहले कर जनता मारा बनाए जस्तै देखीएपनि वास्तविकता नभएको दाबी गरे ।

उनले स्थानीय तहले मात्रै सबै कर वृद्धि नगरेको केही जरिवाना पनि करको रूपमा बुझेको बताए । उनले भर्ने, ‘कर तिर्न योग्य बनाउनका लागि हामी लागेका छौँ,हाम्रो आयु ४ वर्षको मात्रै आयु हो ,भोलीकोे हैसियत के हो त्यो सम्झनुहोला । ‘उनले जनप्रतिनिधि लाइ आग्रह गरे ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले आफ्नो नगरपालिकाले कर वृद्धि गरेको हल्ला आए पनि आफूहरूले १२ प्रकारका छुट दिएको बताएका छन् । उनले तिलोत्तमा आएका करको सबै नकारत्मक विषयलाई मात्र बुझ्न नहुने बताए । विषयगत बृहत् छलफल गरी कर नगरपालिका भित्र लागु गरिएको बताए ।

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेयले अहिले बुटवलमा उपमहानगरपालिकाले कर जनताको आयस्रोत विना , भौतिक पूर्वाधार विकास विना लगाएको बताए ।

उनले बुटवलमा औषधिमा साढे सात सय प्रतिशत ,घरबहालमा ४ सय प्रतिशत सम्म, हाटबजारमा तरकारी बेच्नेलार्इसम्म कर वृद्धि भएको र तत्काल समायोजन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले करबृद्धि सबैदलको सहमतिमा गर्नुपर्ने र करलाई जुन क्षेत्रबाट हो त्यही क्षेत्रमा लगाउन आग्रह गरे ।

बुटवल बहुमुखी क्याम्पसका सह प्राध्यापक नुरजंग केसीले कर तिरेको अनुभूति जनतालाई हुन नहुने बताए। उनले कर तिर्दा जनताले गर्व गर्ने वातावरणमा मात्रै करको भ्याली हुने भन्दै बुटवल उपमहा नगरपालिकाले अस्वाभिक ढगँले कर वृद्धि गरेको बताए । उनले बुटवलमा कर आतंक सृजना भएको बताए ।

करदान क्षमताको आधारमा कर लगाउनु जरुरी रहेको तर मकै पेल्ने देखी कुखुराको मासु काटेर बच्चे सम्मलाई एउटै डालोमा हालेर नगरपालिकाले कर लिएको बताए । रिपोटर्स क्लब प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कपिल ज्ञवालीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.