काठमाडौं, साउन १० : शंखमुलस्थित एक औषधि पसलमा प्रंहरीले छापा हान्दा लागुऔषध २२ थान ट्रमाडोल हाइड्रो क्लोराइड बरामद गर्नुका साथै तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
नयाँ बानेश्वर वृतबाट प्रहरी नायब उपरीक्षक गोविन्द राज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
चिकित्सकको सल्लाहविना प्रयोग गर्न नमिल्ने उक्त ओषधी भोजराज फार्मेेसीले एक नजिकै रहेको मदिरा पसलमा लगेर विक्रि गर्ने गरेको विशेष सूचनाको आधारमा प्रहरीले बिहिबार बिहान ९:३० बजे छापा मारेको हो।
पक्राउ पर्नेमा औषधी पसल सञ्चालक महेश बम, औषधी पसलमा कार्यरत रविन कुमार शर्मा र मदिरा पसल सञ्चालक पदम बहादुर बुढा रहेका छन्।
नियन्त्रणमा लिएका तीनै जनालाई आवश्यक कार्वाहीका लागि औषधी व्यवस्था विभागमा पठाउने डिएसपी गोविन्दराज काफ्लेले रिपोर्र्ट नेपाललाई बताए । डिएसपी काफ्लेका अनुसार प्रहरी एकातिर लागुऔषध नियन्त्रणको अभियान सञ्चालन गरिरहेको छ भने केही गिरोह लागुऔषध विक्रिवितरणका विभिन्न तरिका अपनाइरहेको छ।
यस्ता किसिमका गिरोहलाई कानुनी दायरामा ल्याउन विभिन्न योजनाहरु बनाएर अघि बढिरहेको छ । केहि दिन अघि बानेश्वर प्रहरीले भव्यताका साथ संचालन गरेको टोलटोलमा प्रहरी भन्ने कार्यक्रमले समाजमा भएको विकृति र विसंगतीलाई निर्मुल पार्नका लागि पनि लागुऔषध नियन्त्रण अभियान संचालन गरिएको काफलेले बताए । औषधी व्यवस्था विभागमा बुझाइएका मेडिकल संचालकलाई औषधी ऐन अन्तर्गत कार्वाही हुने बुझिएको छ ।