उल्टो यात्रामा बगेछ जिन्दगी !

रिपोर्ट नेपाल | 2020 Sep 02 | 11:11 am 1897

■ देवप्रकाश त्रिपाठी

सृष्टिको एउटा अभिन्न अङ्ग भएर पनि मानिस आफूलाई प्रकृतिभन्दा भिन्न ठान्न खोज्छ । मानिस यो ब्रह्माण्डको एउटा अति सूक्ष्म अङ्श भए पनि यो सत्य बुझ्ने र स्विकार गर्ने चेत सामान्यतः मानिसमा हुँदैन । ब्रह्म स्थीर छ र जगत परिवर्तनशील एवम् अनित्य छ भन्ने जान्दाजान्दै पनि मानिस आफू र आफ्नो कार्यको स्थायित्व चाहन्छन् । जनावर तथा कीट–पतङ्ग र पन्छीको मनोविज्ञान अझै पनि अध्ययनको विषय मान्न सकिन्छ, तर मानिसमा चाहिँ सबै प्राणीहरू भन्दा विशिष्ट र मान्छेमध्ये पनि आफू अझै विशिष्ट ठान्ने मनोविज्ञान हुन्छ । किशोरवय पार हुँदानहुँदै मभित्र पनि ‘विशिष्टता’को रोग परिसकेको थियो । कलेज बिदाको समयमा मलेखुबाट काठमाडौं फर्कने क्रममा भएको एक घटना र जेलमा रहँदा आफूले गरेको एउटा प्रयोगले मात्र मलाई ‘तँ पनि विशिष्ट नभइ सामान्य होस् र तँ हुनु या नहुनुले यो चलायमान जगतलाई कुनै असर गर्दैन’ भन्ने चेतना दिएको थियो ।

मलेखुबाट काठमाडौं फर्कंदै थिएँ, बसमा अनेक आकारप्रकारका मानिस यात्रीका रूपमा थिए । चालक, बस मालिक, कण्डक्टर र खलासी त हुनै नै भए । भित्र सबैभन्दा अपहेलित, उपेक्षित र दुःखी पात्र खलासी नै हो भन्ने मेरो ठहर थियो । सबभन्दा दुःखी र उपेक्षित मानिसको मनोभाव कुन प्रकारको हुँदोरहेछ भन्ने जिज्ञाशा मेट्नका लागि खलासी उभिएको पछिल्तिरको ढोकाछेउको खालि सिटमा बस्न पुगेँ र सोधेँ– ‘भाइ यो बसमा सबभन्दा ठूलो मानिस को हो ?’ उनी मुसुक्क हाँसे र, भने– ‘खोइ दाइ मलाई त म नै सबभन्दा ठूलो हुँदा जस्तो लाग्छ ।’ मैले कारण जान्न चाहेँ, उनले गम्भीर भावमा ‘मैले रोक्नु भनेपछि मात्र गाडी रोकिन्छ र जाउँ भनेपछि अघि बढ्छ, गाडीमा कुनै खराबी आयो भने म नै सबभन्दा पहिले जाँचबुझ गर्न अघि सर्नुपर्छ, उकालो या ओरालोमा गाडीको नियन्त्रण कायम गर्नुपर्ने अवस्था आउँदा ओत (काठको सानो मुढो) लगाउन म नै जानुपर्छ र, सबैलाई गाडीभित्र प्रवेश गराएर मात्र आफू गाडी चढ्ने जिम्मेवारी पनि मैले नै पूरा गर्नुपर्छ, त्यसैले म नै यो गाडीमा सबैभन्दा ठूलो मानिस हुँ ।’

यसरी सबभन्दा सानो ठानिएको मानिसबाट ठूलो कुरा सुनेपछि मैले कण्डक्टरलाई सोधेँ– ‘यो बसमा सबभन्दा ठूलो मान्छे को हो ?’ कण्डक्टरले भने– ‘मै हुँ, साहुजीले मलाई नगदको जिम्मा दिनुभएको छ, चालक र सहयोगीलाई खानपिन गराउने जिम्मेवारी पनि मेरै छ र, कोसँग भाडा लिने र नलिनेसम्मको अधिकारसमेत मलाई नै छ, त्यसैले यो बसमा सबभन्दा ठूलो मानिस मै हुँ ।’ त्यसपछि मैले सोही प्रश्न चालकलाई गर्दा उनले हाँस्दै भने– ‘यो बसमा यात्रा गर्ने सबैको जिन्दगी मेरो हातमा छ, साहुले ममाथि विश्वास गरेर लाखौँको सम्पत्ति जिम्मा दिएका छन्, सबैले ‘गुरु’ भन्ने गरेबाट पनि तपाईंले यो बसमा सबभन्दा ठूलो मानिस को हो भन्ने बुझ्नु पर्दथ्यो ।’ चालकलाई ‘मैले बुझेँ’ भन्ने प्रतिक्रिया जनाउँदै गाडीमालिक भएको ठाउँमा पुगेँ र त्यही प्रश्न गरेँ । उनले भने– ‘मैले लाखौँको लगानी गरेर बस खरिद गर्ने हैसियत बनाएको छु, बैंकले मलाई पत्याएको छ, यी चालक, कण्डक्टर, हेल्पर मेरा स्टाफ हुन्, मैले दिएको पारिश्रमिकमा यिनले बाँच्नुपर्छ, मेरो यस्ता कतिवटा बस राजमार्गमा चलिरहेका छन् । त्यसैले को ठूलो भन्ने आफैं बुझ्नुहोस् ।’

म्याक्स मूलर जस्तो वेद र उपनिषद् पढेर जीवन र मृत्युबारे धारणा बनाउनेमा आफू परिएन । उपनिषद् र वेदका अध्येता म्याक्स मूलरले मृत्युप्रतिको भय र भ्रमबाट मुक्त भइ मानसिक रूपमै मृत्युका निम्ति तयार हुने र सत्य बुझ्ने सर्वश्रेष्ठ मार्ग उपनिषद् भएको बताएका छन् । तर मैले पढेर होइन प्रयोगबाट मृत्युको समानता बोध गरेको हुँ ।

बसमा भएका सबै यात्री मजस्तै आफैंलाई विशेष ठान्थे । यस घटनाले मलाई मानिस कोही ठूला र साना हुँदैनन्, आ–आफ्नो ठाउँमा आफैं ठूला हुन् भन्ने ज्ञान दिएको थियो । सबै मानिस आ–आफ्नो ठाउँमा ‘ठूला’ हुन्छन् भन्ने ज्ञान पाएपछि पनि आफूलाई विशेष ठान्ने रोगबाट म मुक्त थिइनँ ।

पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय थिएँ । काङ्ग्रेसले आह्वान गरेको सत्याग्रहलाई समर्थन गर्दै ललितपुरको गाःबहालमा मन्तव्य दिँदा पक्राउ परियो र ललितपुरका तत्कालिक प्रजिअ विन्देश्वरप्रसाद सिन्हा र डीएसपी कृष्णमोहन श्रेष्ठले म थुनिएको पुल्चोक प्रहरी चौकीमा आएर बयान लिए र, करिव पैंतालिस मिनेटसम्म प्रहरी लगाएर कुटाए । भोलिपल्ट नख्खु कारागार चलान गरियो । पहिलोपटक प्रहरी हिरासतमा परेर सिडिओ कार्यालयले मुद्दा चलाउँदा म सोह्र वर्ष पूरा भएको थिएँ । एक्काइस वर्षको उमेरमा जेल परेपछि त्यहाँ पनि मैले एउटा प्रयोग गर्न चाहेँ ।

जेलमा चौकीदारको कोठामा राखिएको रेडियोबाट समाचार सुन्न पाइन्थ्यो । बाहिरी मानिसको अनुहार हेर्न कि जेलको छाना चढ्नु पर्थ्यो कि आफन्त र साथीभाइसँग भेटका निम्ति तोकिएको दिन पर्खनु पर्थ्यो । बस्दाबस्दै मलाई जेल अर्कै ग्रह जस्तो अनुभूति हुन थाल्यो । म जेलबाहिर भएका बेला अरुहरूभन्दा निकै विशेष ठान्थेँ, कसैको मृत्युपछि अन्तिम संस्कारका लागि घाटतर्फ लैजाँदै गरेको देखेका बेला सोच्थेँ– ‘यो मानिस मरेको छ तर समाजमा कसैलाई यसको असर–प्रभाव छैन । यिनी बाँच्दा बाँचेको कुराले र मर्दा मृत्युको घटनाले पनि कसैलाई कुनै असर परेको छैन । शहरको जनजीवन सामान्य ढङ्गले चलिरहेको छ । तर म मरेको बेला यस्तो हुने छैन, मान्छेको जनजीवन र सोचमै परिवर्तन आउन सक्छ, धेरैभन्दा धेरैले गहिरो दुःख महशुस गर्नेछन् ।’

जेलमा बिरामी नपरिकन बाहिरी संसारको दर्शन गर्ने मौका मिल्दैनथ्यो ।

जब जेल अर्कै ग्रह जस्तो लाग्न थाल्यो, त्यसपछि मैले म मरेको बेला मेरो संसार कसरी चल्दोरहेछ, या मेरो अभाव कत्तिको खट्एिको छ, त्यो हेर्ने इच्छा भयो । बिरामी परेकोले उपचारका निम्ति अस्पताल जान पाउँ भन्ने माग राखेर जेलरकहाँ निवेदन दिएँ । भोलिपल्ट जेलको ढोकामा एउटा ट्याक्सी देखापऱ्यो । दुई जना प्रहरीको साथ लगाएर मलाई वीर अस्पताल जान भनियो । मलाई मैले छोडेर गएको संसार हेर्नु थियो । त्यसबेला चक्रपथ त सुनसानै रहन्थ्यो, जावलाखेलदेखि ‘संसार’ देख्ने क्रम शुरु भयो । ठेला र रिक्सा चलाउनेहरू चलाइरहेका, स्कूल–कजेल जानेहरू गइरहेका, ब्यापारीहरूले नियमित व्यापार गरिरहेका, कार्यालय जानेहरू कार्यालय गइरहेका, शहरमा मेरो अनुपस्थिति मलाई नै खट्किएन, त्यहाँ अरुलाई मेरो अभाव महसुस हुने कुरै भएन । त्यसदिनको प्रयोगपछि म मेरो जीवन र मृत्युप्रतिको भ्रमबाट पनि पूर्ण रूपले मुक्त भएँ । म्याक्स मूलर जस्तो वेद र उपनिषद् पढेर जीवन र मृत्युबारे धारणा बनाउनेमा आफू परिएन । उपनिषद् र वेदका अध्येता म्याक्स मूलरले मृत्युप्रतिको भय र भ्रमबाट मुक्त भइ मानसिक रूपमै मृत्युका निम्ति तयार हुने र सत्य बुझ्ने सर्वश्रेष्ठ मार्ग उपनिषद् भएको बताएका छन् । तर मैले पढेर होइन प्रयोगबाट मृत्युको समानता बोध गरेको हुँ । त्यस्तो प्रयोगपछि मृत्युको असमानता बुझाउने कुनै घटना मेरो जीवनमा भएको छैन ।

पन्ध्र वर्षदेखि एक्काइस वर्षसम्मका हरेक रात निदाउनुअगाडिको शुन्य समयमा म तत्कालिक व्यवस्थाविरुद्ध बेग्लै सेना खडा गर्ने, युद्ध लड्ने, जित्ने र देशको शासक बन्ने कल्पना गर्थें । जेलमुक्त भइसकेपछि स्नातक तहको अध्ययन दर्शनशास्त्रलाई मूख्य विषय बनाएर गर्ने भइयो । त्यसबेलासम्म माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराबाहेकका कुनै पनि विचार–दर्शन ठीक होइनन् भन्ने ठानिएको थियो, पढेर होइन नेताहरूबाट सुनेर । तर जब मैले औपचारिक शिक्षाका रूपमा दर्शनशास्त्रको अध्ययन शुरु गरेँ, सृष्टि र जीवन–जगतलाई हेर्ने मेरो दृष्टिकोण बदलियो । त्यसपछि मलाई लाग्यो– मेरो निजी आकाङ्क्षा या महत्वाकाङ्क्षा पूरा गर्न हिंसा, झुठ–जालझेल र षड्यन्त्रको सहारा लिनु र, देशलाई तल खसाएर आफूलाई माथि उठाउनु कदापि उचित होइन भनने निष्कर्षमा म पुगेँ । यो निष्कर्षमा पुगेसँगै रातको ‘शुन्य’ समयमा मभित्र उत्पन्न हुने उग्र चिन्तनको पनि विसर्जन भयो । त्यसो त पहिलो पटकको जेल बसाइमै भएको एउटा घटनाले नै मभित्रको कम्युनिष्ट क्रान्तिकारितालाई चुनौती दिएको थियो ।

जब मैले औपचारिक शिक्षाका रूपमा दर्शनशास्त्रको अध्ययन शुरु गरेँ, सृष्टि र जीवन–जगतलाई हेर्ने मेरो दृष्टिकोण बदलियो । त्यसपछि मलाई लाग्यो– मेरो निजी आकाङ्क्षा या महत्वाकाङ्क्षा पूरा गर्न हिंसा, झुठ–जालझेल र षड्यन्त्रको सहारा लिनु र, देशलाई तल खसाएर आफूलाई माथि उठाउनु कदापि उचित होइन भनने निष्कर्षमा म पुगेँ । यो निष्कर्षमा पुगेसँगै रातको ‘शुन्य’ समयमा मभित्र उत्पन्न हुने उग्र चिन्तनको पनि विसर्जन भयो ।

बिहान ६ बजेपछि जेलमा पर्खालको भित्रपट्टी चारैतर्फ बनेको बाटोमा ‘मर्निङ वाक’ गर्न पाइने सुविधा थियो । हामी हरेक दिन लामवद्ध भएर हिँड्थ्यौँ, त्यस्तैमा एक बिहान मभन्दा ठीक अगाडि हिँडिरहेका भगत सिंह नामक मित्रको पाइला रतिक्रिडामा रहेको सानो पङ्खदार किरामाथि पर्न खोज्यो । किरा बचाउनका निम्ति मैले भगत सिंहलाई पछाडिबाट राम्रैसँग धकेल्नु पर्ने देखियो र, मैले निमेषभरमै उक्त कार्य गरेँ । किरा त बाँच्यो, तर भगतसिंह अचानक पछिल्तिरबाट ठेलिएपछि असन्तुलित भएर ढुनमुनिदै तरकारीबारीतिर पुगे । जसोतसो उनले आफूलाई ढल्नबाट त बचाए तर फर्किएर मलाई बचाउलान् जस्तो उनको मुख मुद्रा देखिएन । क्रुद्ध भएर ममाथि जाइलागे, हात नै छोडौँला जस्तो गरे तर छोडेनन् । सोधे– ‘किन मलाई यसरी धकेलियो ? मैले भुइँको किरा देखाउँदै जवाफ फर्काएँ– ‘यसैलाई बचाउनका निमित तपाईंलाई दुःख पुऱ्याउनु पऱ्यो माफ गर्नुहोला ।’

मेरो कुरा सुन्नेवित्तिकै उनको अनुहारको भाव बिग्रियो र बिग्रिएकै भावमा मलाई हेयका साथ भने– ‘यू कम्युनिष्ट !’ यस्तो मान्छे कसरी कम्युनिष्ट हुनसक्छ !’ ‘किन कम्युनिष्ट भएपछि सबै प्राणी र प्रकृतिलाई माया गर्न पाइँदैन र ?’ मैले जिज्ञासु भावमा भनेँ । साथी पैदलयात्रीहरू सबै रोकिएर हामीलाई हेर्दै थिए, भगत सिंहले निष्कर्ष सुनाए– ‘यस्तो मान्छे कसरी क्रान्तिकारी कम्युनिष्ट हुनसक्छ !’

हो, त्यसैदिनदेखि मेरो दिमागमा म कम्युनिष्ट हुन सक्दिनँ कि के हो भन्ने प्रश्न उठेको थियो । दर्शनशास्त्रको अध्ययनपछि मेरो जगतलाई बुझ्ने मार्क्सवादी दृष्टिकोण मर्दै गयो र, न्याय, वैशेषिक, वेदान्त र साङ्ख्य दर्शनको प्रभावमा पर्न गइयो । चार्वाक दर्शनको अध्ययन गर्दैगर्दा लागेको थियो, ‘ओहो ! मार्क्सले यो दर्शन पढेका भए उनी आफ्नो विचारप्रति लज्जित हुने थिए ।’

भौतिकवादको सुन्दर ब्याख्या चार्वाक दर्शनले गरेको छ, तर म भने चेतन र पदार्थ (पुरुष र प्रकृति) तत्वलाई सृष्टि विकासको आधार मान्ने कपिल मुनिको साङ्ख्य दर्शनसँग नजिकिएँ । यसरी मेरो भावना र विचार परिवर्तन भएपछि पनि आन्दोलन र सङ्गठनमा निरन्तर रहँदै थिएँ । नेपालीहरूलाई मेघालयबाट निष्काशन गरिएको घटनाका विरुद्ध आमसभा गर्न लाग्दा २०४४ सालमा पुनः पक्राउ गरियो र, दोस्रोपटक कारबास (भद्रगोल) पठाइयो । ०४६ को आन्दोलनमा सक्रिय थिएँ र त्यही कारण वारेण्टेड पनि थिएँ । आन्दोलन सफलतामा पुगेर टुङ्गियो र त्यसैसँगै मेरो कम्युनिष्ट आन्दोलनसँगको सहयात्रा पनि अन्त्य भयो ।

पहिले पन्ध्र वर्षको उमेरमा पञ्चहरूले देश बनाउन सक्दैनन्, हामी बनाउँछौँ भनेर आन्दोलनसँग एकाकार भइरहेको थियो, अहिले पचपन्न वर्ष नाघेपछि देश बचाएर मात्र मर्न पाए हुन्थ्यो भन्ने लागेको छ । पुर्खाको नासो यो देश बचाइदिन मात्र पाइयो भने बनाउने काम भोलिको पुस्ताले गर्दै गर्लान् भन्ने लागेको छ ।

किशोर वयमै पञ्च र पञ्चायतले देश बनाउँदैन भन्ने चेत पसेको थियो । सम्पूर्ण अवसरहरूमा पञ्चायतलाई स्विकार गर्नेहरूको मात्र हक कायम गरिएको, विचारका आधारमा पक्षपात भएको र भिन्न विचार समूहप्रति राज्य असहिष्णु बनेकोले पञ्चायत बेठिक व्यवस्था भन्ने लाग्थ्यो र पञ्चायतको अन्त्य हुने वित्तिकै भिन्न विचारप्रति सम्मान हुने, योग्य र इमानदारहरूले अवसर पाउने, सबै पेशा–व्यवसायको सार्वभौमिकता उच्च र सम्मानित रहने, देश अझै शान्त, सुस्थिर तथा समृद्धि बन्ने, अर्थतन्त्र बलियो हुने, भ्रष्टाचार तथा अनियमितता अझै न्यून हुँदै जाने, कर्मचारी प्रशासन जनमुखी एवम् कार्यमुखी बन्ने, विकासको गति बढ्ने र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप अभिवृद्धि हुने विश्वासका साथ पञ्चायतविरुद्ध र प्रजातन्त्रका पक्षमा क्रियाशील भइएको थियो । प्रजातन्त्रले राजाद्वारा प्रस्तावित शान्तिक्षेत्रको प्रस्तावलाई बिर्सिएकोमा निकै दुःख लाग्दै थियो । सबभन्दा उन्नत दाबी गरिएको विद्यमान ‘तन्त्र’ वैचारिक मामिलामा पञ्चायतभन्दा हज्जार गुणा असहिष्णु रहेको महशुस गरिँदैछ । सुरक्षा, न्याय र अवसर प्राप्त गर्न पार्टी सदस्यताको प्रमाणपत्र या नेतृत्वको पारिवारिक सदस्य, नातेदार या दामदार हुनुपर्ने नयाँ परम्परा बसाइएको छ । त्यसबेला लुकेर भ्रष्टाचार हुन्थ्यो, अहिले खुल्लमखुला हुन थालेको छ ।

पञ्चायतमा राजनीतिकरण भएको थियो भने अहिले दुई कदम अघि बढेर राज्य र समाजका सबै अङ्गलाई पार्टीकरण गरिएको छ । उत्पादन र उद्योग थपिनुको सट्टा धराशयी र न्यून हुँदै गएका छन् । देशको एकता नियोजित रूपमै खण्डित गरिएको छ र, राष्ट्रियभन्दा जातीय तथा क्षेत्रीय एवम् साम्प्रदायिक भावनालाई प्रोत्साहित गरिएको छ । सार्वभौमिकता र देशको प्रतिष्ठा वेगवान गतिमा खस्किएको छ । पहिले पन्ध्र वर्षको उमेरमा पञ्चहरूले देश बनाउन सक्दैनन्, हामी बनाउँछौँ भनेर आन्दोलनसँग एकाकार भइरहेको थियो, अहिले पचपन्न वर्ष नाघेपछि देश बचाएर मात्र मर्न पाए हुन्थ्यो भन्ने लागेको छ । पुर्खाको नासो यो देश बचाइदिन मात्र पाइयो भने बनाउने काम भोलिको पुस्ताले गर्दै गर्लान् भन्ने लागेको छ । जिन्दगीको यात्रा उल्टो दिशामा बढिरहेको थाहा पाउँदापाउँदै जीवनको ऊर्जामय समयको विघटन भइसकेको छ । उल्टिएको जीवनयात्रालाई सुल्ट्याउन परब्रह्म परमेश्वरको शरण पर्ने हो कि जनताको, यही प्रश्नमा क्षणहरू गुज्रिरहेका छन् । विश्वव्यापी आतङ्क बनेर मडारिएको कोरोनाले झन् मानिसलाई ‘देश बचाउँदै गरौँला पहिले आफैंलाई बचाउँ’ भन्ने ठाउँमा ल्याइपुऱ्याएको छ । जगतको सृष्टि र प्रलय नियमित प्रक्रिया भएकोले अन्ततः मानिसको जित हुने र बाँचेका मानिसले मानव सभ्यताको विकास पनि गर्नेछन्, तर के त्यसपछि पनि नेपाल रहनुपर्छ होइन र ? आफू नरहे पनि देश रहनुपर्छ भन्नेहरू सङ्गठित सचेत र एकीकृत हुन विलम्ब गर्नु भनेको नेपाल र नेपालीको इतिहास र अस्तित्व मेटाउने कार्यको साक्षी बस्नु हो, बाँकी जीवनलाई समाज, प्राणीजगत, पर्यावरण र देशरक्षाका निम्ति समर्पित गरौँ । जय मातृभूमि ! घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.