वातावरण बिना जीवित प्राणीको अस्तित्त्व सम्भव छैन

रिपोर्ट नेपाल | 2021 Jun 05 | 02:20 pm 3437

  • इन्दिरा पाण्डे

हाम्राे वरिपरी रहेका सजीव तथा निर्जीव वस्तुहरूको अन्तरकृयाबाट बनेको एउटा सुन्दर परिवेसलाई वातावरण भनिन्छ। वातावरण शब्द बात+आवरणकाे सम्मिश्रणबाट बनेको छ। जहाँ बात भन्नाले हावा र आवरण भन्नाले तह वा ढकनलाई जनाउदछ। यस प्रकार भन्न सकिन्छ कि वातावरण एक बाह्य परिवेस हो जसले जीवित जीवको वृद्धी र विकासलाई निर्धारण गर्दछ। वास्तवमा वातावरण माटो, जल, जीवजन्तु,मानव आदिको संयोजन हो जुन तत्वहरू बीच एक आपसमा अन्तरनिर्भरता कायम रहेको हुन्छ। जहाँ जीवित प्राणीहरूले आफ्नो जीवन सञ्चालन गरिरहेका हुन्छन्। वातावरण बिना जीवित प्राणीको अस्तित्त्व सम्भव छैन।

हरेक बर्ष झै आज पनि अंग्रेजी क्यालेन्डर अनुसार जुन ५ मा विश्व कोरोना महामारी सँग जुधिरहेको परिप्रेक्ष्य सँगै विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व वातावरण दिवस मनाइदैछ। विश्व वातावरण दिवस एक अन्तर्राष्ट्रिय दिवस हो। खासगरी संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1973 देखि विश्वमा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो। आज मानिसहरू विकासको नाममा प्रकृतिकाे अत्यधिक दोहन तर्फ लागिरहेका छन्। तिब्र रुपमा भइरहेको जनसंख्या वृद्धीसँगै मानिसका अधिकतम आवश्यकताहरु पनि दिनानुदिन बढ्दै जानाले ती आवश्यकताहरू परिपूर्तिका निम्ति मानिसहरू प्रकृतिलाई संरक्षण गर्नुका अलावा प्राकृतिक वस्तुहरूकाे अत्यधिक उपभोग तर्फ आकर्षित भएका छन्। प्रकृतिका निःशुल्क उपहारहरुकाे उपभोगका साथै तिनीहरूको संरक्षण गर्नु पनि त्यतिकै आबस्यक हुन्छ भन्ने तर्फ मानिसहरूको खासै ध्यान गइरहेको देखिँदैन। यसले गर्दा विश्व वातावरणमा अब  संकट बढिरहेको छ। विभिन्न विकसित ,अल्प विकसित तथा विकासोन्मुख देशहरू विकासको होडबाजीकाे नाममा वातावरणकाे अत्यधिक उपभोग गरी वातावरणीय स्वरूपलाई कुरुप बनाएको अवस्था छ। जसले गर्दा वातावरणीय अवस्था लाई पुनः पहिलेकाे अवस्थामा फर्काउन कठिन प्रमाणित भइसकेकाे छ। विश्वमा भइरहेको तिब्र जनसंख्या वृद्धीसँगै तिब्र रुपमा वनजङ्गलकाे फडानी, पेट्रोल, कोइला, खनिज इत्यादि वातावरणीय उपजकाे उत्खनन्ले गर्दा एकातिर ती अमूल्य खानीहरु रित्तिने क्रममा छन् भने अर्को तर्फ वातावरणीय प्रदूषणहरु जस्तै- वायु प्रदुषण, जल प्रदूषण, ध्वनी प्रदूषण, विकिरण प्रदूषण, ठोस – प्रदूषण बढेका छन् भने अर्कोतिर विश्वव्यापी रुपमा विभिन्न वातावरण सम्बन्धी समस्याहरू जस्तै- हरित गृह प्रभाव, अम्ल वर्षा, जलवायु परिवर्तन, ओजोन तहकाे विनास जस्ता थुप्रै विकराल समस्याहरु देखा परेका छन्। यदि वातावरणमा रहेको वन सम्पदा लगायत जल सम्पदा, खनिज सम्पदा इत्यादिलाई समयमा नै संरक्षण नगर्ने हो भने यसबाट सब भन्दा बढी प्रभाव विश्व परिवेशमा रहेका मानिसहरूले भोड्नु पर्दछ।

वातावरण सम्बन्धी समस्या विश्व व्यापी रुपमा जटिल बन्दै गएको परिप्रेक्ष्यमा हाल विकसित तथा विकासोन्मुख सबै राष्ट्रहरु वातावरणीय समस्याहरूबाट ग्रस्त भएको कारणले गर्दा मानव, बोटबिरुवा, जीवजन्तु सबैको जीवन संकटमा पर्न गएको यस विषम परिस्थितिमा अहिले वातावरणको समुचित व्यवस्थापन अति अपरिहार्य छ। यसै तथ्यलाई मनन् गरेर विश्वका सम्पूर्ण विकसित तथा विकासोन्मुख देशहरुले वातावरण संरक्षण गर्नुका साथै दिगो विकासलाई निरन्तरता दिनका लागि मूलतः जनसंख्या वृद्धीलाई नियन्त्रण गर्नुका अलावा फोहोर मेलाकाे व्यवस्थापन गरिनु आवश्यक छ । त्यसैगरी वातावरणीय  संरक्षण गर्नका लागि विकास निर्माणका कार्य गर्नु भन्दा पहिले वातावरणीय प्रभाव मूल्यांकन अर्थात् Environmental Impact Assessment (EIA) प्रविधि अपनाउनु पर्दछ। त्यसैगरी मानव र मानवीय व्यवहार नै वातावरणीय विनासकाे प्रमुख कारण भएकोले गर्दा जनमानसमा वातावरणीय विनास गर्दा देखा पर्ने जटिल समस्याहरू बारे चेतना जगाउनुका साथै विद्यालय स्तर देखि विश्व विद्यालय तहसम्म वातावरणीय शिक्षा विषय शिक्षा शिक्षककाे व्यवस्थालाई कायम गरिनु पर्दछ। कुनै पनि जीवित प्राणीलाई जन्मन हुर्कन, बढ्न वातावरण अति आवश्यक तत्व भएको हुनाले वातावरणीय प्रदुषण नियन्त्रण गर्नु, प्रकृति सन्तुलन कायम राख्नु तथा वातावरण सरसफाइ, वृक्षरोपण कार्यक्रम, भु – संरक्षण, जनसंख्या नियन्त्रण वा परिवार नियोजन जस्ता विविध वातावरणीय संरक्षणका उपायहरु अवलम्बन गर्नुका अलावा वातावरणीय संरक्षण कानुन बनाई तिनको लागू गर्नु पनि त्यतिकै आबस्यक छ।

अन्त्यमा भन्नुपर्दा वातावरण हाम्रो एक अमूल्य सम्पति हो। जहाँ हामी लगायत सम्पूर्ण जीवात्माकाे जीवन सम्भव छ। तसर्थ यस्तो प्राकृतिक उपहा काे अत्यधिक दोहनलाई घटाई यसको उचित हिफाजत गर्नु आजको आवश्यकता रहेको छ। विश्व वातावरणलाई जोगाउन प्रमुख रूपमा जनसंख्या नियन्त्रण गरी त्यसले वातावरण माथि पार्ने विविध प्रभावहरु माथि नियन्त्रण गर्न सकेमा हाम्रो विश्व वातावरणीय स्वरूपलाई येथा स्थितिमा राक्न सकिन्छ। त्यसैगरी हामी सबैको सुन्दर भबिस्यको कल्पना गर्नुका साथै भावी पिडिलाई स्राेत साधनहरू सहज रुपमा हस्तान्तरण गरी उनीहरुको जीवनलाई समेत खुसी, सुखी, गुणस्तरिय राख्न मद्धत पुग्दछ। त्यसैगरी विश्व वातावरण संरक्षण सम्बन्धी मापदण्ड, नीति, नियम, कानुनलाई प्रभावकारी रुपमा लागू गरी त्यसको परिपालना विश्वमा रहेका हरेक मानिसहरूले गर्न सकेमा मात्र आजको पर्यावरण हामी तथा हाम्रो भावी पुस्ताका लागि वरदान सावित हुन सक्दछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.