चितवन, साउन १० : अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल भरतपुर महानगरपालिकाले निर्माण गर्ने भएको छ ।
शहरी विकास मन्त्रालयले सिटीहल निर्माणका लागि बजेटसमेत छुट्याइसकेको छ । महानगर प्रमुख रेनु दाहालले जग्गा टुंगिएलगत्तै सिटिहल निर्माणको काम थालिने बताए ।
महानगरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको स्वास्थ्य मन्त्रालयको नाममा रहेको जग्गामध्ये खालि रहेको पाँच बिगाहा जग्गामा सिटीहल निर्माण गर्ने प्रक्रिया अघि बढाइएको र सम्पूर्ण प्रक्रिया पूरा गरेर जग्गाप्राप्तिका लागि मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने तयारी भइरहेको उनले बताएका छन् ।
अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न सिटीहल निर्माण गरिने जस्मा पाँच हजार मानिस अट्नसक्ने ठूलो हल र अरु सानाहल, पार्किङ, फुडल्याण्ड, बगैँचा समेत रहने महानगर प्रमुख दाहालको भनाइ रहेको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, चितवनका प्रमुख कुमार घिमिरेले बिभागले सिटीहलका लागि रु ५० करोड छुट्याएपनि जग्गाप्राप्तिमा ढिलाइ भएकाले गत आर्थिक वर्षमा काम थाल्न नसकिएको बताए ।
गत आवमा काम थाल्नका लागि रु पाँच लाख विनियोजन गरेको तर जग्गाको अभावमा काम शुरु हुन नसकेको उनले बताए ।
जग्गा उपलब्ध भएसँगै माटो परीक्षण गरेर नक्साङ्कनको काम अघि बढाउँने डिभिजन कार्यालय, चितवनका प्रमुख कुमार घिमिरेले जानकारी दिए।
सिटीहलको स्वरुप र लागतका बारेमा विस्तृत अध्ययन गरेपछि थाहा हुने र यसका लागि आवश्यक रकम विभागबाट प्राप्त हुने भएकाले बजेटमा समस्या नहुने उनको भनाइ छ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको जग्गा ७५ बिगाहा १० धुर जमिन छ । यता भने क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने भन्दै नेपाली काँग्रेसको चितवनले शाखाले सिटीहलका लागि अन्यत्र जग्गा व्यवस्थापन गर्न महानगरलाई जानकारी दिएको छ ।