नेपाल वायुसेवा निगमको न्यारोबडी विमान समयमै नउडेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘स्टेरायल हल’ मा नाराबाजी गर्दै यात्रु । पुस २३ मा बैंकक उड्न लागेका १५२ यात्रुलाई तीन घण्टाभन्दा बढी कुराएपछि उडान रद्द गरिएको थियो । यात्रुलाई अर्को दिनमात्रै गन्तव्यतर्फ लगिएको थियो ।
काठमाडौँ, माघ ३।दोहा हुँदै क्यानडा जान काभ्रेका दब्साङ लामा सोमबार साँझ साढे ६ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । उनीसँगै राति ११ बजे दोहाका लागि काठमाडौंबाट उड्नुपर्ने र त्यहाँबाट अरू विदेशी वायुसेवाको विमानको टिकटमा तेस्रो मुलुक जान लागेका २ सय ७६ यात्रु पनि बेलुकी ८ बजेअघि नै विमानस्थल पुगिसकेका थिए ।
४८ दिनअघि बिग्रेको जहाज नबन्दै अर्को ग्राउन्डेड, निगमको उडान अस्तव्यस्त
विमानस्थलको भुइँतलामा रहेको वायुसेवा काउन्टरमा चेकइन सकियो । अध्यागमन डेस्कबाट राहदानीमा प्रस्थान अनुमतिको छाप पनि लाग्यो । सुरक्षा जाँच सकेर जहाज चढ्न ‘स्टेरायल हल’ मा पत्नीसहित पुगेका लामाले ८ घण्टाको प्रतीक्षापछि राति साढे १ बजे सूचना पाए– दोहाका लागि तोकिएको निगमको उडान नम्बर आरए–२३९ रद्द गरिएको छ । जबकि नेपाल वायुसेवा निगमको यो वाइडबडी विमान राति ११ बजे नै उड्नुपर्ने थियो ।
श्रम भिसामा काठमाडौंदेखि क्यानडासम्मका लागि प्रतिटिकट २ लाख २० हजार तिरेका लामाले दोहाबाट क्यानडाका लागि अर्को विमान चढ्नुपर्ने थियो । राति १ बजे काठमाडौंबाट उडान रद्द भएपछि कतारबाट क्यानडा पुग्ने उडान पनि छुट्यो । नेपाल वायुसेवाको जहाजको कन्ट्रोल सेन्सरमा समस्या देखिएकाले उडाउन नमिल्ने जानकारी गराएपछि प्रतीक्षामा रहेका यात्रु आक्रोशित भए ।
‘हामीले अर्को जहाजमा पठाउने व्यवस्था गर भन्यौं,’ पोखरा हेम्जा घर भएकी एक विद्यार्थीले भनिन्, ‘तर, त्यहाँ वायुसेवाको कुनै जिम्मेवार मान्छे आएनन् ।’ के गर्ने, के नगर्ने ? यात्रु विलखबन्दमा परेका बेला राति २ बजेपछि प्रहरीले यात्रुहरूलाई हल खाली गर्न भन्यो । अध्यागमन कार्यालयले सबै यात्रुको राहदानीमा ‘डिपार्चर क्यान्सिल’ को छाप लगाइदियो । उनीहरू आफ्ना लगेज, पोका पन्तुरा बोकेर अध्यागमन हुँदै पुनः बाहिरिए । ‘होटल आइपुग्दा राति ४ बजेको थियो । मसहित ९ जना क्यानडा जाने यात्रुलाई ज्ञानेश्वरको एक होटलमा ल्याइयो,’ काभ्रे नमोबुद्ध घर बताउने लामाले भने, ‘४ बजे राति फ्राई राइस खाएर सुत्यौं ।’
निगमले यात्रुलाई ६ देखि ८ घण्टा भोकभोकै जहाजको प्रतीक्षा गरायो । उता, दोहाबाट मंगलबार राति नेपाल आउनुपर्ने २ सय ५४ यात्रु पनि उतै रोकिए । विमानस्थलमा आइसकेका कतिलाई निगमको खर्चमा होटलमा राखियो । कति घर वा डेरा फर्के ? निगमसँग आधिकारिक सूचना नै छैन । निगमका एक अधिकारी भन्छन्, ‘उडान रद्द हुँदा नेपालमा एक रात होटलमा राख्दा कम्तीमा २ हजार ५ सयदेखि ३ हजार रुपैयाँ निगमको अतिरिक्त दायित्व थपिन्छ । हाम्रा कारण रद्द भएको उडानको व्यवस्थापनमा आफैं अर्को टिकट किनिदिनुपर्छ । यस्तो हिसाब निगमले कहिल्यै सार्वजनिक गरेकै छैन ।’
यो जहाज ग्राउन्डेड भएकाले समस्याको लहरो निम्तिएको छ । वाइडबडी जहाज सोमबार राति विमानस्थलमै ग्राउन्डेड भएपछि वायुसेवाको मंगलबार राति ११ः२५ मा जापानको नारिता हुने उडान रद्द भएको छ । मंगलबार अपराह्न मात्र फेसबुकमा सूचना जारी गर्दै निगमले काठमाडौंबाट जापानको नारिता र दोहाका लागि तय गरिएका उडान अर्को दिन सारिएको जनाएको छ ।
निगमको विश्वासमा परेर यात्रुले सास्ती खेपेको यो पहिलो घटना होइन । गत पुस २३ मा बैंकक उड्ने तरखरमा रहेको निगमको न्यारोबडी दुई पटक प्रयास गर्दा पनि उड्न सकेन, १ सय ५२ यात्रुलाई जहाजबाट ओरालेर राति होटलमा राखेर अर्को दिन मात्रै उडाइयो । त्यसअघि मंसिर दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल सवार निगमको वाइडबडी ३१ यात्रुलाई काठमाडौंमै छाडेर उडेको थियो । मंसिर ६ मा पनि न्यारोबडी विमानले ६० यात्रुलाई काठमाडौंमै छाडेर उडेको थियो । त्यो बेला ओभर बुकिङ भएको जनाउँदै निगमले ती यात्रुलाई चेकइन काउन्टरबाटै फर्काएको थियो ।
निगमसँग अन्तर्राष्ट्रिय उडानमा दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाज छन् । १ सय ५८ सिट क्षमताको न्यारोबडी (अल्फा किलो एक्सरे) मंसिर १३ देखि ग्राउन्डेड थियो, शुक्रबार मात्रै इजरायल मर्मतका लागि पठाइएको छ । ‘त्यसमा हाल्नुपर्ने पुरानो इन्जिन नै मर्मत नभएको इमेल आएको छ,’ निगमको इन्जिनियरिङ विभागका एक प्राविधिकले भने, ‘मर्मत हुने कहिले हो, यकिन छैन ।’
निगमको वाणिज्य विभागका एक अधिकारीका अनुसार उक्त जहाज ग्राउन्डेड भएयता निगमले सातामा गर्ने १४ वटा दिल्ली उडान कटौती गर्दै ७ वटामा झारेको छ । जबकि नाफाको रुट मानिने काठमाडौं–दिल्ली रुटमा भारतीय वायुसेवा इन्डिगो, भिस्तारा, एयर इन्डिया तथा भुटानका ड्र्युक र भुटान एयरलाइन्सले दैनिक कम्तीमा १० उडान गर्छन् । निगमको मुम्बईको उडान नियमित हुन सकिरहेको छैन । बैंङलुरुका सबै उडान रद्द गरिएका छन् । दमाममा नियमित उडान हुन सकिरहेको छैन । न्यारोबडीले उडान गर्नुपर्ने रुटमा घाटामा वाइडबडी सञ्चालन गरिएको छ ।
निगमको अर्थ विभागका अनुसार न्यारोबडीले दैनिक डेढ करोड र वाइडबडीले चार करोड रुपैयाँ हाराहारीको कारोबार गर्छ । तर एउटा विमान इजरायलमा र अर्को काठमाडौंमा ग्राउन्डेड भएसँगै निगमले दैनिक ५ करोड रुपैयाँ हाराहारी आम्दानी गुमाइरहेको छ । सोमबार ग्राउन्डेड विमानको स्पेयर पार्ट्स बेलायतबाट एजेन्ट कम्पनी एजे वाल्टरले टर्किस एयरलाइन्सको उडानबाट बिहीबार नेपाल पठाउन लागेको निगमका प्राविधिकले बताए । उनका अनुसार, जहाज ग्राउन्डेड भएको १२ घण्टामा सामान पठाइसक्नुपर्ने सम्झौता भए पनि एजे वाल्टरले तीन दिन ढिलाइ गर्दा यसको जिम्मेवार को हो भन्ने पत्तो छैन ।
निगमको लापरबाहीबारे कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग टेलिफोन सम्पर्क गर्दा उनले प्रवक्तालाई सोध्नु भन्दै पन्छिए । पर्यटन मन्त्रालयका सचिव दीपक काफ्लेले आफूलाई जानकारी प्राप्त भइनसकेको बताए । ‘निगमको यो घटना मलाई जानकारी छैन, म बाहिर छु । प्रवक्तालाई सोध्नू,’ उनले भने ।
निगमका प्रवक्ता रमेश पौडेलले दुई जहाज ग्राउन्डेड भएका कारण अरू उडान रद्द नगरी डिले गरी मिलाउन निगम व्यवस्थापन लागिपरेको बताए । ‘जहाज कम छन् । चार वटा जहाज लिएर हामी अन्तर्राष्ट्रिय वायुसेवा भरिरहेका छौं, कम्तीमा २०/२५ वटा जहाज भइदिएको भए राष्ट्रिय ध्वजावाहक भन्न मजा आउँथ्यो ।’
काठमाडौंबाट उडान हुने ३३ वटा विदेशी गन्तव्यमध्ये निगमले १० वटामा सातामा कम्तीमा १ देखि ७ सम्म उडान गर्दै आएको छ । चार वटा विमान खरिद गर्दा तथा अन्य काममा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलगायतबाट लिएको ऋणको साँवा तथा ब्याज गरी ४८ अर्ब दायित्व छ ।
(कान्तिपुरबाट)