१५ वर्षीया किशोरीमाथि छाउगोठमै सामुहिक बलात्कार

| 2018 Jul 05 | 08:12 am 3940

सुर्खेत, असार २१: महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको थियो ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा सँगै सुतिरहेका मध्ये एउटा किशोरीलाई भगाएर अर्कीलाई छाउगोठभित्रै सामूहिक बलात्कार गरेको पाइएको छ’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले भने, ‘बलात्कारमा संलग्न तीनैजनालाई मंगलबार पक्राउ गर्न सफल भएका छौं, थप अनुसन्धान जारी छ ।’ बलात्कारमा संलग्न मध्ये पदम १४, चेतन १५ र जनक १८ वर्षका छन्।

प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको हो। पीडितसँगै सुतकी किशोरीले राति १२ बजेतिर आफूलाई छाउगोठबाट निकालिएको बताइन् । ‘तीनजनामध्ये पदम गिरीले मलाई छाउगोठबाट बाहिर निकाल्यो, म डराएर खेतमा गएँ’, प्रहरीसमक्ष दिएको बयानमा ती किशोरीले भनेकी छन्, ‘सँगैकी साथीलाई बलात्कार गरेछन्, बिहानमात्रै थाहा पाएँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.