हनुमन्ते सफाइ अभियानको १५ औं हप्ता

रिपोर्ट नेपाल | 2018 Jun 09 | 02:49 pm 3097

भक्तपुर, जेठ २६: भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज १५ औं हप्तामा १६ टन फोहोर संकलन गरिएको छ । मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाको सिमानामा रहेको थिमि–दधिकोट पुल क्षेत्रमा सरसफाइ गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहोर फाल्नेलाई कडा कारबाही गर्न नगरपालिकाले ठोस कार्यक्रम बनाउनु पर्नेमा जोड दिँदै उनले अभियन्ताले सफा गरिरहने माथिकाले फोहोर फालिरहने प्रवृत्तिको अब स्थानीयवासीले नै अन्त्य गर्नुपर्ने बताए ।
हनुमन्ते सफाइ अभियानमा आज प्रमुख अतिथिका रुपमा आएका मनोज गजुरेलले शुरुकै दिनदेखि हनुमन्ते सफाइमा आफ्नो सक्रिय सहभागिता रहेको बताउँदै भक्तपुरका चारवटै नगरपालिकाको सक्रिय सहभागिता र प्रतिबद्धताले मात्रै नदीलाई पूर्णरुपमा सफाइ गर्न सकिने बताए । अभियानलाई सार्थकता दिन सबै क्षेत्रका व्यक्ति लाग्नुपर्ने र स्थानीयवासीको अभियानमा सक्रिय सहभागिता हुनुपर्नेमा उनको जोड थियो ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानमा जिल्लाका विभिन्न संघ संस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए ।

विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आजसम्म २१६ टन फाहोर संकलन भएको र आजकोअभियानमा ५७० जनाको प्रत्यक्ष सहभागिता रहेको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.