काठमाडौँ, २३ जेठ : विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा स्यालमतीबाट वाग्मतीसम्म सफाइ गरिएको छ ।
वाग्मती प्रदूषित बन्नुमा यसका सहायक नदीमा भएको फोहर पनि प्रमुख कारण हो । मुहानदेखिको वाग्मती सफाइमा सक्रिय पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटीलगायत संस्था र स्थानीयवासीको सहयोगमा गरिएको सफाइ अभियानमा नगरपालिका वडा नं ३ र ४ ले पनि सहयोग गरेका थिए ।
गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित तारेभीरबाट नगरपालिकाको वडा नं ४ गोकर्णेश्वर महादेव मन्दिरसम्मको नदी सफाइ गरिएको समाजका महासचिव उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो । तारेभीर उद्गमस्थल रहेको स्यालमती गोकर्णेश्वर महादेव मन्दिरमा आएर वाग्मतीमा मिसिन्छ । वातावरण दिवसका दिन मंगलबार वाग्मती किनारमा वृक्षरोपण तथा विद्यालयका विद्यार्थीसँग सफाइबारेमा अन्तक्र्रिया भएको थियो ।
यसै अवसरमा समाज र सुन्ताखान माविको आयोजनामा यही जेठ १९ गतेदेखि आजसम्म स्यालमतीबाट वाग्मतीसम्म सफाइ गरिएको छ । जेठ २० गते महिला स्वयंसेविकाका लागि गोकर्णेश्वरको बालुवामा वातावरणीय चेतना प्रशिक्षण पनि सम्पन्न गरियो । ‘सुन्ताखान माविमा विद्यार्थीका लागि वातावरण बचाऔँ’ नामक अभिमुखीकरण कार्यक्रम पनि आजै सम्पन्न भएको समाजले जनाएको छ । सफाइका क्रममा उठाइएको फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गरेको छ ।