गुल्मी असार १३: श्रममन्त्री गोकर्ण विष्टले गुल्मीको पश्चिम क्षेत्रमा साक्षात्कार कार्यक्रम गरेका छन। धुर्कोट गाउँपालिकाले निर्माण गर्न लागेको उत्कृष्ट सहिद पार्कको शिलान्यासका लागि गुल्मी पुगेका मन्त्री विष्टले जनतासामु अन्तरक्रिया समेत गरेका छन।
धुर्कोट गाउँपालिकाको केन्द्र रहेको बर्बोटमा झण्डै १ करोडको लागतमा गाउँपालिकाले सहिद पार्क निर्माण गरि शहिदको शालिक राखिने भएको छ। सहिदपार्कको शिलान्यास गर्दै मन्त्री विष्टले शहिदले देखाएको बाटोमा हिड्न सकेमा मात्रै सहिद प्रति सच्चा श्रद्धाञ्जली हुने बताए। उनले धुर्कोट गाउँपालिकाले सहिदपार्क निर्माण गरि सहिदको शालिक राख्ने निर्णय गरेर प्रशंसनीय काम गरेको बताए।
मन्त्री विष्टले गाउँको विकासका लागि सबैले राजनीतिक विचारलाई थन्क्याएर राजनीति भन्दा माथि उठ्नु पर्ने कुरामा जोड दिए। धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले जबसम्म सहिदको आत्माले शान्ति पाँउदैन तब सम्म विकासको गतिले अग्रता लिन नसक्ने बताए। गाउँपालिकाका उपाध्यक्ष शिव केसीले आजको यो दिन ल्याउन सहिदले आफ्नो शरीर हाँसिहाँसि अधिनायकवादी तत्वको बलिबेदीमा चढाएको बताएका थिए।
केसी सहिद शमशेर बहादुर खत्रीका नाति पनि हुन। २०१७ सालमा पंचायति शाशकले सहिद शमशेर बहादुर खत्रीको टाउको सेनालाई काट्न लगाएर पंचायतको विरोध गरे यस्तै हुन्छ भन्दै सेनाले गाउँ – गाँउमा प्रदर्शन गरि सदरमुकाम पुर्याएको थियो ।

खत्रीका त्यसवेलाका सहयोगि दलबहादुर महतलाई आफ्नै साथीको टाउको बोकाएर सदरमुकाम पुर्याईएको थियो। ज्युँदा सहिद मानिने महतको पनि केही समय अघि निधन भईसकेको छ। त्यस्तै माओेवादी जनयुद्धमा राज्यद्वारा हत्या गरिएका खिमविक्रम नेपाली , विष्णु बस्नेत र जेदुराम भण्डारीको शालिक पार्कमा राखिने जनाईएको छ।
मन्त्री विष्टले उत्कृष्ट बाख्रा पालक महिलालाई पनि सम्मान गरेका थिए। मन्त्री विष्टले मदाने गाउँपालिकामा रहेको जनज्योति क्याम्पसको साधारण सभाको समेत उद्घाटन गरेका छन् । कार्यक्रममा पाँच नम्बर प्रदेशका सभासद गीता थापा, जिल्ला समन्वय समितिका सभापित लक्ष्मण पराजुली, माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा वर्तमान नेकपाका नेता बुद्धि जिसीको समेत उपस्थिति रहेको थियो।