विराटनगर, साउन १६: भारतले बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको ‘क्याम्प अफिस’ बुधबारदेखि बन्द गरेको छ। भारतले १० वर्षअघि नेपाल सरकारको अनुमतिविनै सो कार्यालय स्थापना गरेको थियो ।
भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर आज अर्थात अगस्ट १ देखि विराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने जनाएको छ ।
सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले क्याम्प अफिस खडा गरेको थियो । सो समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि सुनसरीमा अस्थायी क्याम्प खडा गरिएको थियो । नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिटका लागि उक्त कार्यालय खोलिएको थियो। तर, त्यसलाई पछि बिराटनगरमा सारियो र बलजफ्ती राखियो ।
कोशी पुल सुचारु भएको एक दशक बित्न लाग्दा पनि भारतीय कार्यालय बन्द हुन सकेको थिएन । परराष्ट्र मन्त्रालयले यसअघि सो क्याम्प हटाउन भारतीय दूतावासलाई पत्राचार गर्दासमेत भारतले टेरेको थिएन ।
भारतीय क्याम्प अफिसले बाहिरीरुपमा एकखाले काम गर्ने भने पनि भित्रीरुपमा चाहिँ नेपालको आन्तरिक मामिलामा जासुसीसमेत गर्दै आएको सरकारी अधिकारीहरुले सूचना पाएका थिए।
नेपाल सरकारको अनुमतिविनै खोलिएको यो क्याम्पबाट रिटायर्ड लाहुरेहरूको पेन्सन दिने, नवीकरण गर्ने, सवारी परमिट दिने, भारत पढ्न जाने विद्यार्थीका लागि अनुमति दिनेदेखि धार्मिक पर्यटकको लागि परमिट दिनेसम्मको काम हुँदै आएको थियो । अब ती सबै काम काठमाडौंबाटै हुने दूताबासले जनाएको छ ।