लप्सेफेदीमा स्थानीयवासि र प्रहरी विच झडप

रिपोर्ट नेपाल | 2023 Nov 18 | 01:08 pm 1029

काठमाडौँ, मङ्सिर २।काठमाडौँको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ। सबस्टेसन निर्माण र सुरक्षा पोस्ट स्थापनाको तयारी गरिएपछि सुरक्षाकर्मी (सशस्त्र र नेपाल प्रहरी)माथि स्थानीयले आक्रमण गरेका छन्।

स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जना र नेपाल प्रहरीका एक जना घाइते भएको जानकारी दिए।

उनका अनुसार सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन्। प्रहरीले जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा, हर्कमान वाइवासहित चार जनालाई पक्राउ गरेको छ।

नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका-३ स्थित बोझेनीमा सबस्टेसन निर्माण गर्ने तयारी गरेको छ। सबस्टेसनको सुरक्षाका लागि डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको थियो।

सोही निर्णयका आधारमा शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गरेका थिए। यसका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण पनि गरेका थिए।

(नेपाल क्लिक्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.