काठमाडौं, साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्यका लागि राजीनामा मागिहाल्ने संस्कार र प्रवृती राम्रो नभएको बताएका छन् ।
इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा दिने भए देऊ, नभए सदन चल्दैन भनेर विपक्षीले गरेको अवरोध राम्रो नभएको प्रचण्डको भनाई रहेको थियो । प्रधानमन्त्री प्रचण्डले विभागीय मन्त्रीहरूसँग छलफल गरेर मात्र आफूले प्रष्ट पार्ने बताए । स्पष्टीकरणको मौका नै नदिई एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो नभएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
यस्तै, देशव्यापीरूपमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारकोतर्फबाट आवश्यक मेहनत गरिएको पनि प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक, अन्य सरोकारवाला निकायसँगको छलफलमा पनि सो रोग नियन्त्रणका लागि आवश्यक पहल गरिएको र लाखौँ पशु चौपायालाई खोप लगाइएको बताए ।
प्रधानमन्त्रीको हैसियतमा संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागिता आफैँमा महत्त्वपूर्ण रहेको प्रचण्डको भनाई रहेको थियो । विश्व समुदायमा नेपालको उपस्थिति र हैसियत थप स्थापित गर्न सम्मेलन महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ छ ।