रत्न मन्दिर दरबार जेठ १५ देखि खुल्ने

| 2023 May 24 | 08:14 am 681

कास्की, जेठ १०: फेवाताल किनारमा रहेको रत्न मन्दिर (राजदरबार) यही जेठ १५ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ। पूर्वराजपरिवारको हिउँदकालीन दरबार गणतन्त्र दिवसका दिन खुला गर्न लागिएको हो।

तत्कालीन राजा महेन्द्रले कान्छी रानी रत्नको नाममा २०१३ सालमा दरबार बनाएका थिए। यो भौतिक संरचना गणतन्त्र आएसंगै नेपाल ट्रस्टको स्वामित्वमा आएको थियो। यहाँका पर्यटन व्यवसायीले यसलाई शाहवंशीय राजाको इतिहास अध्ययन केन्द्रका साथै जैविक विविधता पार्कका रूपमा विकास गरी खुला गर्न माग गर्दै आएका थिए।

नेपाल ट्रस्टका प्रवक्ता दिपकराज नेपालले रत्न मन्दिर परिसर खुला गरिए पनि भित्र अवलोकन भने नखुलाइने बताए। उनका अनुसार दरबार परिसरको २८ रोपनी क्षेत्र अवलोकन गर्न मात्र खुला गरिने भएको हो। भित्र साँघुरो संरचनाका कारण अप्ठ्यारो पर्ने भएकाले सहज वातावरण बनाउन केही समय लाग्ने देखिएको छ।

दरबार अवलोकन गर्न विदेशीलाई १ हजार, नेपालीलाई १ सय र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई ५० रुपैयाँ शुल्क निर्धारण गर्ने तयारी रहेको प्रवक्ता नेपालले बताए। महेन्द्रसहित उनीपछिका वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह पोखरा आउँदा यही दरबारमा बस्ने गर्थे। चारैतिर पर्खालले घेरिएको यो भौतिक संरचना पर्यटकका लागि मात्र होइन स्थानीयवासीका लागि पनि कौतुहलको विषय बन्दै आएको छ।

२०१३ सालमा निर्माण पूरा भएको रत्न मन्दिर १ सय ७४ रोपनीमा फैलिएको छ। यस परिसरमा राजा बस्ने बंगला प्रमुख आकर्षण छ। जहाँ ११ कोठा छन्। त्यससँगै राजा पोखरा आउँदा दैनिक रुपमा कामकाज गर्ने स्थान, बोट हाउस, एडीसी अफिस र सुन्दर बगैचा छन्।

ताल किनारमा रहेको दरबार आकर्षक छ। चराचुरुंगीको चिरवीर आवाज र फेवा तालको मनोरम दृश्यले त्यहाँ पुग्ने जोकोहिलाई पनि लोभ्याउँछ।
रत्न मन्दिर खुलेपछि पोखरा घुम्न आउने पर्यटकको बसाइँ लम्बिने पोखरा पर्यटन परिषद्का सचिव हरि भुजेलले सुनाए। उनका अनुसार स्वदेशी र विदेशी पर्यटकले ताल किनारको राजदरवार कस्तो छ भन्ने जिज्ञासा राख्ने गर्छन्। दरबार खुला भएसँगै पर्खालले घेरिएर रहेको राजा बस्ने दरवार कस्तो छ भन्ने जिज्ञाशा मेटिने स्थानीयवासी अनिल थापाले बताए।

रत्न मन्दिरमा ४१ वर्ष जागिर खाएर अवकाश जीवन बिताइरहेकी ८२ वर्षीय प्रतापकुमारी अधिकारी राजा बस्ने दरबार कस्तो होला भन्ने जिज्ञासा सबैमा भए पनि सामान्य रहेको बताउछीन्। दरबारका कोठा साँगुरा रहेका र खाट, बेड बिस्तारा पनि सामान्य रहेको उनको भनाइ छ। राजा महेन्द्र, वीरेन्द्र आउने बित्तीकै सबैलाई सन्चो बिसन्चो के कस्तो छ भनेर सोध्ने गरेको सम्झना उनले गरिन्। नजिकै घर भएकी अधिकारीले दरबार हत्याकाण्डपछि रत्नमन्दिर जान मनै नलागेको सुनाइन्। अन्नपूर्ण पाेस्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.