यू-१९ विश्वकप : नेपालले आज न्युजिल्यान्डसँग खेल्दै

रिपोर्ट नेपाल | 2024 Jan 21 | 08:05 am 681

काठमाडौँ, माघ ७। नेपालले आइतबार न्युजिल्यान्डसँग खेलेर दक्षिण अफ्रिकामा आईसीसी यू–१९ विश्वकप क्रिकेटको यात्रा सुरु गर्दै छ । युवा विश्वकपमा नेपालले ८ वर्षपछि पुनरागमन गरेको हो । न्युजिल्यान्डले दुई वर्षअघि क्यारेबियन भूमिमा भएको पछिल्लो संस्करण कोभिड–१९ को प्रोटोकलका कारण जनाउँदै खेलेको थिएन ।

दक्षिण अफ्रिकामा शुक्रबार सुरु आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालका देव खनालसहित १६ टोलीका कप्तान ट्रफीका साथ । तस्बिर : आइसीसी

इस्ट लन्डनमा हुने समूह ‘डी’ को न्युजिल्यान्डसँगको खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ । नेपाल पहिलो खेलबाटै लय समाउने दाउमा छ । दक्षिण अफ्रिका पुगेर खेलेको चारमध्ये तीन अभ्यास खेलमा जित पाएको नेपाल त्यही लय न्युजिल्यान्डविरुद्ध उतार्ने दाउमा छ ।

न्युजिल्यान्डविरुद्ध यू–१९ विश्वकपमा नेपाल अपराजित छ । सन् २००६ मा श्रीलंकामा भएको प्रतियोगितामा नेपालले प्लेट फाइनलमा न्युजिल्यान्डलाई १ विकेटले पराजित गरेको थियो । २०१६ मा बंगलादेशमा भएको प्रतियोगितामा पनि नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । नेपाल त्यसयता यू–१९ विश्वकपमा पहिलो पटक खेल्दै छ ।

सोही समूहमा शनिबार दुई पटकको च्याम्पियन पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनले पराजित गरेको छ । पाकिस्तानले ९ विकेट गुमाई २ सय ८४ रन बनाएको थियो भने जबाफमा अफगानिस्तान २७ ओभरभित्र १ सय ३ रनमै अलआउट भयो ।

(कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.