काठमाडौँ १ जेठ / मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। ‘नीति तथा कार्यक्रमबारे मन्त्रिपरिषद बैठकमा छलफल भयो, बैठकबाट नीति तथा कार्यक्रम पारित भएको छ,उनले भनिन्।
बैठकले १६औं पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले जानकारी दिइन्। राष्ट्रिय योजना अयोगले १६औं आवधिक योजना (२०८१/८२-२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो।
यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ। कांग्रेस संसदीय दलको आज बजेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। यसअघि सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधि सभा अवरोध गर्दै आएको थियो।