काठमाडाैं, चैत ९ः अवकाशप्राप्त सैनिकहरूलाई सेवा अवधिमा आर्जित अनुभव र क्षमता यही माटोमा आत्मसम्मानका साथ रोपी समाजमा सवल र समृद्ध बनेर स्थापित हुन सल्लाह दिँदै आज बिहीकार पोखरास्थित फूलबारी व्यारेकमा संचालन भएको भूतपूर्व सैनिक सम्मेलन-२०७९ को प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले समुद्घाटन गरे । मनाङ्ग, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ्ग गरी जम्मा ७ जिल्लाहरुमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागिता रहेको सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापतिले अवकाश प्राप्त जीवनयापनका क्रममा संगठनको संवेदनशीलता तथा यसको नीति, नियम र परिधि नबिर्सी एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकको रुपमा समाज विकासको लागि भरोसादार व्यक्तिको रुपमा आफूलाई स्थापित गर्नुपर्ने बताए । उनले नेपाली सेनाले संविधान सम्मत निर्वाह गरिरहेका जिम्मेवारीहरुका बारेमा बेला मौकामा दुष्प्रचार गर्ने नियतले अनर्गल प्रचारवाजी हुने गरेको हुँदा यस किसिमका भ्रामक प्रचारवाजीबाट सजग रहन समेत सबैलाई आग्रह गरे ।
सम्बोधनकै क्रममा प्रधान सेनापतिले हाम्रा असिमित आकांक्षा तथा आवश्यकतालाई केही हदसम्म भएपनि सम्बोधन गर्न हाम्रै रगत पसिनाबाट आर्जित कल्याणकारी कोषको पारदर्शी रुपमा सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियत कर्जा मार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा प्रदान गर्दै आइरहेको र Welfare Vision 2030 अनुसार कल्याणकारी सेवा सुविधा विस्तारमा कटिवद्ध रहेको बताए । सोही क्रममा उनले वीरगति प्राप्त सकलदर्जाका सन्तती र एकल महिलालाई सदैव महत्वका साथ हेरिँदै आएको र यसको निरन्तरता स्वरुप देशका विभिन्न ६ स्थानमा एकल महिला स्वरोजगार केन्द्रहरू संचालन भईरहेको एवं वीरगति प्राप्त सकलदर्जाका सन्ततीलाई नेपाली सेनाको भर्नामा प्राथमिकताका लागि प्रयत्नशील रहेको बताए ।
सम्मेलनमा स्याङ्जा निवासी ९२ वर्षका सिपाही गुमानसिंह कार्की (अ.प्रा.) र स्वर्गीय सिपाही मनिराज थापा क्षेत्री (अ.प्रा.) को श्रीमती बाग्लुङ्ग निवासी ८९ (उनान्नब्बे) वर्षकी एकल महिला
श्रीमती मसिकला थापा क्षेत्रीलाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघुउद्यमी/व्यवसायीहरु दुई जनालाई प्रशंसा-पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा ४ वा सो भन्दा बढी सन्ततिहरु नेपाली सेनामा रहेका ३ जना अभिभावकहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त ११ जनालाई व्हिल चेयर, बैसाखी तथा आर्थिक सहयोग र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई कर्जाको चेक वितरण गरिएको थियो ।
भू.पू. सैनिकहरुको तर्फबाट प्रादेशिक रथीबृन्द प्रतिनिधि रथी अमर पन्त (अ.प्रा.) तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका केन्द्रिय सभापति सहायक रथी दिगम्वर शम्शेर ज.ब.रा. (अ.प्रा.) ले मन्तव्य राख्दै अवकाशप्राप्त सैनिक र आश्रित परिवारजनलाई पुर्याउँदै आएको सहयोगका लागि नेपाली सेना प्रति आभार प्रकट गरे । बलाधिकृत रथी सरोज प्रताप राणाले समापन मन्तब्य राख्नुहुंदै कल्याणकारी गतिबिधिलाई सरल, सहज र बिस्तार गर्न निरन्तर प्रयास भैरहेको कुरा बताए ।
समारोहमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अ.प्रा.), पोखरा महानगरपालिकाका मेयर, कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उपरथी राम बहादुर गुरुङ्ग (अ.प्रा.) र उपरथी देवेन्द्र बहादुर मेधासी (अ.प्रा.), प्रदेश तथा जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, रक्षा मन्त्रालयका सह सचिव, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरुका साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो । त्यस अवसरमा भू.पू. सैनिक तथा एकल महिलाहरुको तर्फबाट मार्चपाष्ट लगायत स्थान विशेषको झाँकी, विभिन्न संस्कृति झल्किने नृत्य, राष्ट्रिय सेवादलका क्याडेटद्वारा एकता नृत्य र सैनिक व्याण्डको प्रस्तुती प्रदर्शन गरिएको
थियो ।
सम्मेलनकै अवसर पारेर चैत्र ९, १० र ११ गते सैनिक मेडिकल टिमद्वारा फूलबारी ब्यारेकमा स्वास्थ्य शिविर संचालन गरि MOPD, Surgical, ENT, Dental, Ortho, Gynae, Paediatrics, Eye, Pathology, X-ray, USG, ECG, Physiotherapy, Dermatology लगायतका स्वास्थ्योपचार सेवा प्रदान गरिएको छ ।
यसै क्रममा मिति २०७९ चैत्र १० गते तनहुँको खैरेनीटार व्यारेकमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने कार्यक्रम छ । सम्मेलनमा अवकाश प्राप्त सैनिकहरुको भेटघाट र अवकाश पश्चातको अनुभव आदानप्रदान गर्ने अवसर मिल्नुका साथै सैनिक नेतृत्वसँगको अन्तरक्रियाबाट कल्याणकारी कार्यहरूलाई थप प्रभावकारी बनाउँदै लैजान महत्वपूर्ण सुझावहरू प्राप्त हुने विश्वास नेपाली सेनाले लिएको छ ।