बिमा रकम पाउने लोभमा आफ्नै टिपरमा आगजनी गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2023 Aug 16 | 06:43 pm 2917

काठमाडाैं, साउन ३१ । बिमा रकम पाउने लोभमा चार महिना देखि विग्रिएर थन्किएको टिपरमा आफै आगो लगाउने टिपरका संचालक सहित ३ जना पक्राउ परेका छन्  ।

यसरी पक्राउ पर्नेमा  रामेछाप, मन्थली नगरपालिका वडा नं. १२ स्थायी घर भई हाल काठमाडाैं  ३२ कोटेश्वर बस्ने वर्ष ३४ को प्रदिप कुमार खत्री, सिन्धुली, दुधौली नगरपालिका वडा नं. १४ स्थायी घर भई हाल ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं. ५ टिकाथली बस्ने वर्ष २५ को रंग बहादुर बुढाक्षेत्री र रामेछाप, मन्थली नगरपालिका वडा नं. १२ स्थायी घर भई हाल ललितपुर,  महालक्ष्मी नगरपालिका  ५ टिकाथली बस्ने वर्ष ३३ को भिमसेन खत्री रहेका छन् ।

बा. ३ ख २८९४ नम्वरको टिपर मासिक किस्ता तिर्ने गरी तेह्र लाख रूपैँयामा १३ महिना अगाडी प्रदिप कुमार खत्रीले खरिद गरी कान्छा भाई भिमसेन खत्रीलाई  चलाउन दिएकोमाअन्दाजी चार महिना अगाडी देखि उक्त टिपर ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं. १२ ठेचोस्थित नख्खुखोला करिडोर सडकखण्डमा बिग्रिएर थन्किएको अवस्थामा रहेको थियो ।  टिपर मर्मत गर्न धेरै पैसा लाग्ने भएपछि टिपरलाई आगो लगाई बिमा रकम प्राप्त गर्ने उद्देश्यले टिपरका संचालक प्रदिप कुमार खत्रीको योजना बमोजिम रंग बहादुर बुढाक्षेत्री र भिमसेन खत्री समेतको मिलोमतो र संलग्नतामा उक्त टिपरमा मिति २०८०/०४/१२ गते राती अन्दाजी १:१५ बजेको समयमा पेट्रोल छर्किएर आगो लगाएका थिए ।

त्यसपछि उनीहरुले आफै प्रहरी वृत्त चापागाउँ,ललितपुरमा आएर आगो लगाउने अपरिचित व्यक्तिहरुलाई खोजतलास गरी दिन र विमा रकमका लागि सिफारिस गरी पाउँ भनि निवेदन दिएको प्रहरीले जनाएको छ ।

उक्त निवेदन सम्बन्धमा शंका लागि अनुसन्धान गर्दै जाँदा बिमा रकम प्राप्तिका लागि आफ्नै टिपरमा आगजनी गरी अपराधिक उपद्रव गरेको देखिएकोले उनीहरुलाई  पक्राउ गरी अपराधिक उपद्रव कसुरमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.