बारा, वैशाख १३ः बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन् । उनले २८ हजार ४१५ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका छन् । यादव पाँच हजार ८१ मतको अन्तरमा विजयी भएका हुन् । नेता यादवले मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गरेका थिए ।
तेस्रो स्थानमा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशप्रसाद खरेल २ हजार ८२९ मतका साथ चौथो स्थानमा छन्।
एक लाख पाँच हजार २४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिए।
त्यसमध्ये ३७ हजार ४९ पुरुष र ३२ हजार ५८ महिलाको मत खसेको थियो । वैशाख १० गते भएको उपनिर्वाचनमा ६५.६६ प्रतिशत मतदान भएको थियो। यसअघि मंसिर ४ गते भएको संघीय निर्वाचनमा बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन भएको हो।
वैशाख १० गते भएको उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार यादव विजयी हुने एक्लो उम्मेदवार हुन् । तनहुँ र चितवनमा भएको उपनिर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले र रवि लामिछाने विजयी भइसकेका छन् । गाेरखापत्र अनलाइनबाट