नेपाल विकास सम्मेलन लन्डन दूतावासमा

रिपोर्ट नेपाल | 2018 Jun 01 | 04:44 am 2780

लन्डन, जेष्ठ १८: नेपालीहरुले धुमधामका साथ गणतन्‍त्र दिवस मनाइरहँदा र मुलुक आर्थिक वर्ष २०७५-०७६ को बजेटका विषयमा छलफल गरिरहँदा लन्डनस्थित नेपाली दूतावासमा नेपाल विकास सम्मेलन आयोजना गरिएको छ । उक्त दिवसका अवसरमा दूतावासले सम्मेलन नेपालमा लगानी, व्यापार र पर्यटन प्रवद्र्धन एवं द्विपक्षीय सहयोग अभिवृद्धिमा केन्द्रित गरेको हो ।

कार्यक्रमको दोश्रोचरणमा आयोजित ‘नेपाल विकास सम्मेलन’ मा नेपालको विकासमा बेलायतको सरकारी र गैरसरकारी सहयोगका क्षेत्र र सम्भावनाहरु विषयक सातवटा कार्यपत्र पेश गरिए ।

राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा रोयल बोटानिकल गार्डेन, एडिनवर्गका प्रमुख साइमन मिलन, नवगठित ब्रिटेन नेपाल एनजिओ नेटवर्कका अध्यक्ष डेभिड थोमस, ब्रिटेन नेपाल सोसाइटीको युवा विभाग प्रमुख सुश्री एलिसन मोरिसन, लन्डन विश्वविद्यालयका प्राध्यापक डा. माइकल हट, लिभरपुल विश्वविद्यालयका डा. सारा वार्कर र श्रीमती सिर्जनासिंह योञ्जन, गोर्खा वेलफेयर ट्रष्टका निर्देशक एल होवार्ड, प्रसिद्ध न्यूरोसर्जन डा विलियम हार्कनेस र डिएफआइडीका उपनिर्देशक डयान कासपर्जले कार्यपत्र पेश गरे ।

राजदूत सुवेदीले नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसँगै नेपाल राजनीतिक स्थायित्व, सामाजिक रुपान्तरण र आर्थिक समृद्धिसहित ‘समृद्ध नेपाल र खुसी नेपाली’ को लक्ष्य हासिल गर्न अग्रसर रहेको जानकारी दिएका थिए ।

सुवेदीले राष्ट्रियता, सामाजिक न्याय, राजनीतिक स्थिरता, लोकतान्त्रिक मूल्य मान्यता र मौलिक हक अधिकारको सुनिश्चितासहित जननिर्वाचित सरकारले मुलुकको विकासको लक्ष्य अघि सारेको अवस्थामा विदेशका नेपालीहरुको पनि सार्थक योगदानको खाँचो औंल्याए ।

समारोहमा प्रमुख अतिथि बेलायती पूर्वमन्त्री टोनी बाल्ड्रीले संयुक्त अधिराज्य र नेपालबीच दुईसय वर्षभन्दा लामो घनिष्ठ मित्रता रहेको उल्लेख गर्दै यो ऐतिहासिक सम्बन्धलाई व्यापार र लगानीको अभिवृद्धिसहित ठोस र सार्थक सहयोगद्वारा अझ प्रगाढ गर्न अपरिहार्य रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.