नेपाल-भारतबीच लडाई नगर्नु वुद्धिमत्ता हो भने नेपालले लडन सक्दैन भन्नु अल्पवुद्धि हो !!!

| 2020 Jun 17 | 08:04 pm 2157

  • विकास कल्याण

भारतले कालापानी लिम्पियाधुरा लिपुलेकलाई आफ्नो भूमी भनी नक्शामा भित्र पारी तत्पश्चात कैलाश मानसरोबर जाने बाटो नै बनाएर उदघाटन गरेपश्चात तातेको माहौलबीच नेपालले पनि आफ्नो नयाँ प्रशासनिक नक्शा प्रकाशित गरी सो क्षेत्रलाई समेटेपछी त्यसले एक किसिमको द्वन्द्वको स्थिति नै निम्तयाउला जस्तो पनि बनायो । अझ संसदमा नयाँ नक्शा सम्बन्धि संशोधन प्रस्ताव बहुमतले पास गरेपछि त झन के हुने हो भन्ने जस्तो भइरहेको छ । दुवै देश वार्ताको माध्यमबाट समस्यको सामाधान गरिनुपर्नेमा पनि अडिग छन् । यो परिस्थितिले जस्तो किसिमको माहोल बनाउन सक्थ्यो होला कोरोनाको समस्याले गर्दा सम्भावित गतिविधिहरमा भने कमी भने देखिएको छ । यदि दुवै मुलुक शक्तिशाली हुँदा हुनत सायद चीन र भारतको जस्तो तत्काल सेना परिचालन भई युद्धको स्थिति अवश्य उत्पन्न हुने थियो । तर नेपाल भन्दा भारत धेरै कुरामा सक्षम भएकै कारणले यो अवस्था टरिरहेको छ ।

यो तितो सत्य हो । त्यस माथी नेपाल र भारत बीचको विशेष खालको सम्बन्ध रही आएकोले पनि दुवै देश आफ्ना समस्या सकभर शान्तिपूर्ण तवरले सामाधान गर्न चाहन्छन् । यो पनि एउटा बलियो आधार हो तर सर्वस्व चाही होइन । यदि नेपाललाई आफ्नो क्षमतामा आम हिसाबमा
सोचे भन्दा थोरै बढी आत्मविश्वास हुने हो भने स्थिति फरक हुनेमा दुईमत छैन । नेपालसँग जस्तो भारतको विवाद बङ्गलादेशसँग हुन्थ्यो भने पनि स्थिति नेपाल भन्दा केही अन्तर भने पक्कै हुने थियो । किनकी बङ्गलादेश नेपाल जस्तो भूपरिवेष्ठित पनि छैन र उसको सम्बन्ध नेपालसँगको जस्तो पनि छैन । हुन त यी दुई राम्रा छिमेकी हुन् । हो नेपाललाई केही कुराले साथ नदिँदा तुरुन्त आक्रामक वा आक्रमक प्रतिरक्षामा समेत जान धेरै विचार गर्नुपर्ने हुन्छ । राजनीतिक तहमा निर्णय भयो भने सेना परिचालन हुन केहिबेर लाग्दैन । तर त्यस्तो निर्णय हतारमा गरिनु पनि हुदैन । यसको मतलब नेपालले लड्नै नसक्ने भन्ने चाहि पक्कै होइन । र यो स्थिति भनेको अन्तिमको पनि अन्तिम विकल्प हो दुवै देशको लागि । किन लड्नै नसक्ने होइन र किन अन्तिम विकल्प हो भन्ने कुरा विस्तारै बताउदै जाउँला ।

सामाजिक संजालमा पनि देशभक्तिले ओतप्रोत भावना र भारतप्रति घृणाका भावनाहरु छ्यापछ्याप्ति छाइरहेका हुन्छन् । भलै तिनलाई कसैकसैले अनलाईन सेना भनेर पनि कटाक्ष समेत गर्दछन । जे होस आम जनमा यस्तो देखिनु भनेको पनि परिआउँदा त्यो भावना र रिस एककठ्ठा भई स्वस्फुर्त देशको रक्षाको निम्ति होमिन तयार रहेको मानसिकता प्रकट हुनु हो । साधरण व्यक्तिसँग तत्काल त्यो भन्दा बढि गर्नसक्ने पनि केही छैन । नेपालमा हरेक साधारण गोर्खाली पनि एक सैनिक बराबर हो । त्यसै गरी भारतीय मिडियाको अपरिपक्कताको त के नै कुरा गरी साध्य भयो र ? समस्यालाई सामाधान तर्फ भन्दा पनि भारतको सैन्य र आर्थिक शक्तिको बढाईचढाई गरी नेपाल र नेपालीलाई धम्क्याउन खोजे जस्तो । यिनीहरुलाई के थाहा छैन भने यिनका यस्ता समाचार हेरेर नेपालीहरु कति हास्छन भनेर । ति प्रति हरेक नेपालीले कति घृणाको दृष्टिले हेर्छन भनेर । यो कुनै विपक्षी भएकै कारणले भन्दा पनि उनीहरुको केटाकेटी पन र झुठको खेति देखेर । नेपालको लड्ने क्षमताको विश्लेशण गर्नुपूर्व भारतका विभिन्न प्रसङ्गलाई छोटकरीमा हेरौं । हो भारत संख्यात्मक हिसाबले विश्वको दोस्रो ठुलो हो र सैन्य क्षमताको हिसाबमा भारत चौथो वलियो राष्ट्र हो भने नेपाल १२२औं । तर, यो भन्दैमा भारतले एकै गासमा क्वाप्पै पार्छ भन्ने भ्रममा पनि हामी पर्नु हुँदैन ।

भारत भुगोल र जनसंख्याको हिसाबले ठुलो भएकै कारणले उसको सैन्य क्षमता पनि त्यही अनुरुप समानुपतिक हुनगएको हो भने अर्को कुरा उसको भु-राजनैतिक अवस्थितिको कारणले पनि यसो हुन परेको हो । क्षेत्रिय र विश्व परिवेशमा चीनसँगको प्रतिस्पर्धा र ऐतिहासिक विश्वासको संकट तथा गर्भबाटै उत्पन्न पाकिस्तान जस्तो दुश्मन मुलुक भारतको लागि सबैभन्दा बढि टाउको दुखाइको विषय हो । यी दुईसँग
भारतको आत्मियता कायम भई सैन्य होडबाजी कम हुने संकेत तत्काल देखिदैन । बङ्लादेशसँग पनि धेरै कुरामा नजिकिने स्थिति छैन । त्यसका पछाडि अनेक कारणहरु रहेका छन् । भलै सम्बन्ध चीन र पाकिस्तानसँगको जस्तो नहोला । साथै अरु देशसँग पनि स्वार्थको सम्बन्ध रहेता पनि भारत विना चल्न नसक्ने र विशेष सम्बन्ध भने छैन नै भन्नु पर्ने हुन्छ । यति भनिरहदा नेपाल मात्र एक त्यस्तो छिमेकी देश हो जोसँग विशेष खालको सम्बन्ध रहेको छ । नेपाल र भारत दुबै देशमा नागरिकको नजरमा छिमेकी भन्दा पनि दाजुभाइ जस्ता हुन भन्ने बुझाइ समेत रहेको छ । भलै नेपालीहरुले भारत नेपालको बीचको खिचातानीमा भारत प्रति आक्रोश पोख्ने गर्दछन जुन विल्कुल जायज छ तर नेपाल र भारतबीच सुमधुर सम्बन्ध भएको खण्डमा अझै पनि भारतको अन्य देशसँग अप्ठ्यारो पर्दा बहुमत नेपालीले भारतप्रति नै सहानुभुति जनाउनेछन् । यो ध्रुवसत्य हो । हुन त सामाजिक संजाल हेर्दा त्यस्तो नलाग्ला तर यथार्थ भने यहि हो । यसको लागि परिवेश भने नेपाल भारतबीचका विवाद आपसी समझदारीमा सुल्झाएको हुनुपर्यो । तर यस्तो सदभाव भारतले अरु छिमेकीसँग विरलै पाउँला । यहि कारण पनि भारतले नेपालमाथि जाइलाग्न नसक्नुको मुख्य कारण हो । यो एउटा संवेदनशील आत्मिय सम्बन्धको नमुना हो । हुनत अहिलेको विश्व परिवेशमा सार्वभौम देशमाथि जाइलाग्न सजिलो भने छैन र आफुलाई पुर्ण सक्षम नबनाउन्जेल यस्ता किसिमका अप्ठ्यारामा कोहि पनि पर्न चाहदैन।
मानिलिउ भारतले नेपालमाथि हमला गर्यो रे । नेपालको लड्ने क्षमता र तरिकामा विस्तारमा छलफल गरौला तर नेपाल र भारत बीचको जुन सम्बन्ध छ त्यसलाई राम्ररी बुझेका भारतबासीहरुले भोलिपल्टैबाट त्यसको विरोध गर्न शुरु गर्नेछन् । धेरै भारतीयहरुलाई भारतले नेपालप्रति गर्ने व्यवहार पटक्कै मन पर्दैन । कतिले खुलारुपमा भन्ने गरेका छन् भने कतिले प्रष्ट नभनी बसेका छन् । नेपाल भारतीय हिन्दुहरुकोलागि पवित्र भूमी हो ।

नेपालमा आएर धार्मिक स्थलहरुको परिक्रमा गर्दा उनीहरुलाई स्वर्गको अनुभूति हुन्छ । त्यस्तै अमेरिकाले कैयौ टाढा आफ्नो राष्ट्रिय हितमा दखल पुर्याउने देशमाथि हमला गर्दा त उसकै देशमा विरोध हुन्छ भने यसको तुलानामा त भारत र नेपालको कुरा त नङ र मासुको जस्तो हो । भारतले नेपालमाथि एकतर्फी धावा बोल्नु भनेको त एउटा छोराले बाउलाई वा बाउले छोरालाई घात गर्नु बराबर हो । यदि यसो भएमा यो एक आश्चर्य हुनेछ । हुन त यसमा आश्चर्य मान्नु नपर्ला तै पनि यो आश्चर्य नै हुनेछ । त्यसपछिको परिवेश र युगौ युग सम्मको सम्बन्ध हामीले कल्पना मात्र गर्न सकौला । भारत सम्बन्धि सन्दर्भलाई अझ गहिरिएर हेर्न सकिन्छ तर अहिलेलाई यतिमै बिट मारौं ।

अब भारतसँग नेपालको लड्ने क्षमताको तुलनात्मक वश्लेषण गराैं । यो विशेषत मनोगत विश्लेषणमा बढि निर्भर रहेको छ । सबैभन्दा पहिले नेपालको इतिहासलाई हेराैं । किनकी हामी नयाँ पिढि हौ तर नेपालको भौगोलिक अवस्थिति र चरित्रमा भने खासै परिवर्तन भएको छैन । त्यसैले नेपाल यथास्थानमा रहेको छ र यसका भौगोलिक परिवेश पनि लगभग त्यस्तै नै छन् । इतिहासलाई हेर्ने हो भने नेपाल चुपचाप लाएर जे
परेपनि सहेर बस्ने देश चाही अवश्य होइन । विगतमा नेपाल आक्रामक र आक्रामक प्रतिरक्षात्मक दुवै किसिमका सैन्य रणनीति अपनाउँदै आएको देश हो । खालि आफुलाई पर्दा र अन्तिममा मात्र जुर्मुराउने देश होइन । आफ्नो राष्ट्रिय हितलाई जोगाउन वा आच आउँदा तत्कालिन उत्तरतर्फको छिमेकी तिब्बतमाथि तीन पटकसम्म हमला गरी आफ्नो स्वार्थ जोगाएको देश हो । त्यसै गरी अधिकांश विश्वलाई प्राश्त गर्न सक्षम अंग्रेजसँग दुई पटक सम्म ठूला लडाई लडी देशको सार्वभौमिकता जोगाउन सफल देश हो नेपाल । भलै त्यसका विभिन्न विश्लेषण हुने गरेका भएता पनि बहादुरीकै कारण पुर्खाले देशको अस्तित्व जोगाएकै हुन । तिनका सन्तान हौ हामी सबै । त्यसैले हामीमा लड्ने हिम्मत छैन भन्नु अर्को भ्रमपुर्व मनोविज्ञान हो ।

दोस्रो प्रसङ्ग चाही भारतको सैन्य संख्या र क्षमता रहेको छ । भारतको अर्धसैन्य बललाई छोडेर हेर्ने हो भने रेगुलर सेना लगभग बाह्र लाखको वरिपरि भएको अनुमान गरिन्छ । यसमा पनि सबै फ्रन्ट लाइनमा लडन आउने हुदैनन् । भारतले अहिलेको परिवेशमा पनि पाकिस्तान तर्फ विशेषत काश्मिर सहित हेर्ने हो भने पाँच देखि सात लाख सेना तैनाथ गरेको कुरा तथ्यहरुबाट थाहा पाउन सकिन्छ । त्यसै गरी चीन तर्फको
सीमानामा पनि त्यति नै वा बढि संख्यामा तैनाथ गरिरहनु पर्ने देखिन्छ । बाँकी रहे बङगलादेश र म्यानमार । जमिनी सीमाना जोडिएको हुँदा तिनमा पनि केही लाखको संख्यामा सेना तैनाथ गरिरहनै पर्दछ । श्रीलंका र माल्दिभ्स त छदै छन् । यी सबैलाई हेर्दा भारतले नेपाल तर्फ कति सेना तैनाथ गर्न सक्ला त ? त्यो पाँच लाख वा सो भन्दा कम नै हुनेछ । भारतमा अर्धसैन्यबल पनि बीस लाखमाथि नै भएको अनुमान छ । जे जस्तो भएपनि अर्धसैन्य बललाई परम्परागत लडाईमा पठाउनु पक्कै पनि जायज नहोला । तिनलाई आन्तरिक कार्यमा पनि खटाउनु पर्ने हुन्छ । तर नेपालको तर्फ डिफेन्सिभ लडाई मा सेनासँगको सहकार्यमा अर्धसैन्य बल भने मजाले तैनाथ हुन मिल्छ । भनेपछि नेपाली सेना र शसस्त्र प्रहरी बल गरेर एक लाख पच्चिस हजारमाथि हुन आउछ । फौजि लडाईको लियाजले हेर्नेहो भने आक्रमण गर्न आउने फौज एक का विरुद्ध तीनको अनुपातमा आउनुपर्दछ । त्यसमाथी पनि नेपाल जस्तो पहाडी जमिनमा एक का विरुद्ध छ देखि नौं जना सम्मको अनुपात चाहिन्छ
भनिन्छ । यसको मतलब त एक लाख पच्चिस हजारको विरुद्ध त झण्डै छ लाख भन्दा वेसि फौज परिचालन गर्नु पर्दछ । जुन भारतको भइरहेको क्षमता भन्दा बाहिरको कुरा हुन आउँछ । अर्को कुरा भारतले कोरा जनतालाई सिधै लडाईमा होम्न अनुकुल हुदैन भने नेपालले आफ्ना जनतालाई छोटो तालिम दिई तत्काल परिचालन गर्न पनि सक्छ । देशको स्वाभिमान बचाउन तल्लिन सिपाहीमा हुने जोश र जागर अरुको भुमिमा आउनेको भन्दा कैयौं गुणा बढी हुन्छ । यो त भयो संख्यात्मक हिसाब । त्यसमाथि भारतको लागि रहरको लडाइ हो भने नेपालको लागि गर या मार । गर या मरको स्थितिको शक्ति र मनस्थिति आफै अनुमान गर्न सकिएला । सेना जनता आइमाई केटाकेटी लडेर नेपाललाई जोगाएको इतिहास ताजै छ ।

अब क्षमताको कुरा गरौं । नेपाल भूपेरिवेष्ठत भएको कारण भारतको जल सेनाको जहाको त्यही पूर्णविराम लाग्नेछ । हाम्रो भौगोलिक वनावटको कारण भारतीय सेनाका ट्याङ्क तथा अन्य जमिनी युद्ध सवारीहरुको लागि पनि अर्धविराम (कमा) लाग्ने निश्चतप्राय छ । भनेपछि सैन्य क्षमताको पूर्ण प्रयोगमा ह्रास आइनैसक्यो । पैदल फौजसँग पैदल फौजलाई लड्न गाह्रो कुरा भएन । बाँकी रह्यो हवाई क्षमता र लामो दुरिमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र । पहाडी जमिन भएको कारण क्षेप्यास्त्रले गर्ने भनेको सैन्य बाहेक गैर सैनिक क्षति बढी हुने सम्भावना रहन्छ । त्यसै गरी पहाडी इलाकामा हवाई क्षमता भनेजस्तो असरदार हुदैन पनि। यसको असरलाई कम गर्न अनेक उपायहरु अपनाउनुपर्दछ । त्यसैगरी अर्को चाहि विशेष फौजहरु प्रयोग गरी संवेदनशील स्थानहरु कब्जा गर्ने वा उत्तर कोरियालाई जस्तै पछाडिबाट लजिस्टिकलि कटअफ गर्ने । यसको लागि संभावित स्थानहरुमा आवश्यक सजकता अपनाउने र सोही अनुरुप तयारी गर्ने । यस्तै अन्य कुरालाई समेत विचार गर्नुपर्दछ । भनेपछि क्षमताको पनि मोटामोटी विश्लेषण भयो ।

अब के बाँकी रह्यो त। यदि लडाईको अवस्था आएर लडाई शुरु भयो भने नेपाललाई तेस्रो मुलुकबाट प्राप्त हुनसक्ने सहयोग जे जस्तो र जति पनि हुनसक्छ । त्यस्तो मुलुक जुन पनि हुनसक्छ । विश्व परिवेशमा हेर्ने हो भने पनि त्यस्ता उदाहरणहरु प्रशस्त छन् ।

नेपालले आफ्ना प्रतिकुलताहरुलाई अनुकुलतामा ढाल्नको लागि केही सुधार गर्नुपर्ने हुन्छ । पहिलो जमिनी अवस्था अनुरुप आफ्नो रणकौशल बनाउदै अहिले देखि नै सम्भावित प्रतिरक्षमत्मा भौतिक संरचनाहरु बनाउदै जाने । केही हजार देखि लाखको संख्यामा तालिम प्राप्त जगेडा फौजको व्यवस्था गर्ने । हवाई आक्रमणलाई प्रतिकार गर्न हलुका तर असरदार प्रतिहावई हतियारहरु आयात गर्ने । यथेष्ट एण्टीट्याङ्क हतियारमा आत्मनिर्भर टुकुडिको निर्माण गर्ने । जनतालाई मानसिक रुपले तयार गर्ने । यी र यस्तै अरु सुधार र परिमार्जन गर्यो भने सानै देश र थोरै सेना भए पनि कुनै डर मान्नु पर्दैन । किनकि लडने हतियारले मात्र होइन मुटुले पनि हो । हो यसबाट निक्लने राजनीतिक आर्थिक तथा यस्तै कुरामा देशले व्यहोर्न पर्न सक्ने अप्ठ्याराहरु भनेका आफ्नो ठाँउमा छदैछन् जुन हामीले भोग्दै पनि आएका थियौं । लडाईले कुनै पनि देशलाई वर्षौ पछाडि धकेलिदिन्छ । तर, देशको सार्वभौमिकता स्वतन्त्रता र राष्ट्रिय अखण्डताको अगाडि यस्ता कुराहरु दाज्न मिल्ने विषय होइनन् । यी गुमाएर पाएको स्वाभिमानले सदैव पीडा बाहेक अरु दिदैन । यसको ज्वालन्त उदाहरण भारत आँफै हो किनकी ब्रिटिश साम्राराज्यका मुनि दबिएर सयौं वर्ष गुलाम बनेर बस्नुपरेको हिनताबोध भारतीय राजनैतिककर्मी देखि लिएर देशको सैन्य नेतृत्व र आमजनतामा अझै पनि विष झै गडेर बसेको कुरा हामी तिनका भाषण कुराकानी र लेखबाट थाहा पाउन सक्दछौं । कुरा खालि के हो भने नेपाल र भारत जस्ता विशेष सम्बन्ध भएका छिमेकी देशबीच युद्ध भन्दा पनि शान्तिको मार्गबाट सामाधान खोज्नु नै वुद्धिमत्ता हो । नेपाल भारतबीच सैन्य स्तरको लडाई हुनु भनेको दाजुभाइबीच लडाई हुनु हो जुन हाम्रो समाजमा कत्ति राम्रो मानिदैन। हो नेपाल भारतबीच कसले जित्छ वा हार्छ भन्ने भन्दा पनि यो लडाईको कल्पना समेत पनि गरिनु नपर्ने हो । जे जस्तो इच्छाइएता पनि यदि लडाई भइनै हाल्यो भने नेपाल र नेपालीले भारतसँग लड्न सक्दैनन भनेर
गफगर्नु अल्पज्ञान बाहेक केहि होइन किनकी हामीलाई हामीले जति अरु कसैले चिनेको छैन र यो विशेष त विश्व सैनिक परिवेशको कम ज्ञानको उपज हो । सायदै नेपालीलाई र सैनिक व्यक्तिलाई लाग्ला कि हामी एउटा निश्चित विन्दुसम्म लड्न सक्दैनौं भन्ने । हार जित वा अनिर्णीत अवस्था जे होला त्यो समयले मात्र पुष्टि गर्नसक्ने कुरा हो ।

(यो लेख नेपाली सेनाका अवकाशप्राप्त अधिकृतहरु र सैनिक विश्लेशकहरुसँग, के नेपाल सैन्य हिसाबले भारतसँग लडछ सक्छ त, भनी गरिएको प्रश्नमाथि उहाँहरुको विचारलाई संश्लेषण गरी तयार पारिएको हो)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.