नागढुंगा–सिस्ने खोला सुरुङमार्ग छिचोलियो

रिपोर्ट नेपाल | 2024 Apr 15 | 01:49 pm 353

काठमाडौँ ०३ बैशाख / नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार छिचोलिएपनि सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।। प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो ।

४२ महिनाभित्र काम सक्ने भन्दै यसको शिलान्यास भएको थियो । कोभिड र बेलाबेला हुने स्थानीयको अवरोधले गर्दा समयमै काम सक्न गाह्रो भएको आयोजनाले जनाएको छ ।

सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ । काठमाडौंतर्फ बलम्बुबाट साढे आठ किलोमिटर दूरीमा पुगिने सिस्नेखोला सुरुङमार्ग भएर जाँदा भने २.६८८ किलोमिटरको दूरी ३ मिनेटमै पुगिने आयोजनाले जनाएको छ ।

सुरुङमा चौबीसै घण्टा काम भइरहेकाले काममा छिटो प्रगति भएको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाले जनाएको छ। ‘ड्रिल एन्ड ब्लास्ट मेथड’ अपनाएर सुरुङ निर्माण गरिएको हो । मुख्य सुरुङबाट आपत्कालीन सुरुङमा जाने सातवटा द्वार निर्माण गरिएको छ ।

सुरुङभित्र केही भवितव्य घटना भएमा मुख्य सुरुङबाट छिटो निस्कन आपत्कालीन सुरुङ निर्माण गरिएको आयोजनाले बताएको छ। ब्रेक थ्रु’ पछि सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुनेछ । यता बलम्बुतर्फ लफइओभर निर्माण धमाधम भइरहेको छ । तीनवटा पुल र ६ वटा कर्ल्भट निर्माण भइसकेका छन् । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्र हुँदै छ ।

धादिङको सिस्ने खोलातर्फ ५६५ मिटर पहुँच सडक निर्माण गरिनेछ । अहिले नागढुंगाबाट साना–ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर गर्छन । तर पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभरलोड सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन ।

सीसीक्यामराबाट सुरुङमार्गको निगरानी गरिनेछ । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । यो समयभित्र काम नसकिने भएकाले फेरी एक वर्ष समय थप्ने तयारी भएको सडकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.