‘दोरम्बा हत्याकाण्ड दरबारको ठाडो निर्देशन र सम्लग्नता भएकाे थियाे’ -अध्यक्ष प्रचण्ड

| 2018 Aug 16 | 07:41 pm 3954

रामेछाप, साउन ३१ : दोरम्बा हत्याकाण्ड तत्कालीन राजदरबारको निर्देशनमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।

तत्कालीन शाही सेनाद्वारा दोरम्बामा कब्जामा लिइ हत्या गरिएका २१ जना माओवादी कार्यकर्ताहरुका परिवारका सदस्यलाई सम्मान गर्न बिहीबार रामेछापको दोरम्बा पुगेका दाहालले दोरम्बा घटनामा दरबारको आदेश मुख्य रहेको बताएका हुन् ।

दोरम्बा घटनामा मारिएकाका आफन्तजनलाई दोसल्ला ओडाएर सम्मानपछि बोल्दै दाहालले दोरम्बाको बलिदानले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको बताए । उनले दोरम्बा हत्याकाण्ड कुनै सेनाको सनकमा नभई तत्कालीन दरबारको ठाडो निर्देशन र सम्लग्नतामा भएको उल्लेख गरे ।

दोरम्बा घटना भएको पन्ध्र वर्षपछि पहिलो पटक दोरम्बा पुगेका दाहालले खैरेनीघाटदेखि दोरम्बा हुँदै शैलुंगसम्मको सडकलाई युद्ध पर्यटकीय सडकको रुपमा विकास गरिने आश्वासन दिए । दोरम्बा घटनामा सहिद भएका परिवारका सदस्यलाई लालनपालन र शिक्षादीक्षाको व्यवस्था मिलाउने आश्वासन पनि दाहालको थियो ।

सरकार र युद्धरत माओवादीबीच दाङको हापुरेमा वार्ता भइरहेको बेला २०६० साउन ३२ गते दोरम्बामा एउटा विवाह कार्यक्रम र पार्टीको नियमित बैठकमा भेला भएका १९ जना माओवादी जिल्ला नेताहरुलाई तत्कालीन सेनाले नियन्त्रणमा लिई डडुवाको डाँडाकटेरीमा लगेर हत्या गरेको थियो ।

मारिनेमा माओवादी जिल्ला जनसरकार प्रमुख बाबुराम लामालगायत थिए । उनीहरु स्थानीय शिक्षक युवराज मोक्तानको घरमा भेला भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.