देशभर ९२ प्रतिशतमात्रै रोपाइँ

रिपोर्ट नेपाल | 2023 Aug 23 | 06:02 am 573

काठमाडौँ, भदौ ६ । देशभर हालसम्म ९२ प्रतिशतमात्रै रोपाइँ भएको छ । समयमै पर्याप्त वर्षा नहुँदा वर्षायाम सकिन लाग्दासमेत देशभरका अधिकांश प्रदेशमा धान रोपाइँ प्रभावित भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको भदौ १ गतेसम्मको तथ्यांकअनुसार देशभर ९२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । जुन गत वर्षभन्दा तीन प्रतिशतले कम हो ।

कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, बागमती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । धेरै धान उत्पादन हुने मधेश प्रदेशमा सबैभन्दा कम प्रतिशत रोपाइँ भएको छ ।

मधेशमा कुल चार लाख एक हजार छ सय ५० हेक्टरमा रोपाइँ गर्नुपर्नेमा तीन लाख ३१ हजार एक सय ६५ हेक्टरमात्रै रोपाइँ भएको छ । देशभर हालसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । गत वर्ष सोही अवधिमा ९५ प्रतिशत रोपाइँ सकिएको थियो ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.