चोरी भएर अमेरिका पुगेका पुरातात्त्विक मूर्ति नेपाल फिर्ता

| 2023 Dec 05 | 01:39 pm 341

न्यूयोर्क, मङ्सिर १९ ।  विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्तिहरू अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्क स्थिति जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

१६ औं र १७ औं शताब्दीका नेपालका पुरातात्त्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो । जसमा दुई वटा भैरव मास्क रहेका छन् भने शिव  पार्वती (उमा महेश्वर) र दुर्गाको ढुंगाको मूर्ति रहेका छन् । न्यूयोर्कका जिल्ला न्यायाधिवक्ता एल्विन ब्राग जुनियर, जिल्ला सरकारी वकिल कार्यालयका वरिष्ठ अधिकारी, होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन्स, न्यूयोर्क र गृह मन्त्रालयका अधिकारीहरुले कार्यवहाक महावाणिज्यदूत विष्णु प्रसाद गौतमलाई मूर्ति हस्तान्तरण गरेका हुन् ।

नेपालबाट चोरी तस्करी गरी अमेरिका ल्याईएका नेपालका पुरातात्त्विक वस्तुहरु फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले अनुरोध गरेको थियो ।
न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको पटक पटकको पहलपछि अमेरिकी सरकारले लामो अनुसन्धानपछि मात्र यी मूर्तिहरू नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

कार्यवहाक महावाणिज्य दूत गौतमले नेपालको पुरातात्त्विक सम्पदा फिर्ता गरेकोमा कृतज्ञता ज्ञापन गर्दै यसको अनुसन्धानमा खट्ने अधिकृतहरुलाई विशेष धन्यवाद व्यक्त गरे । उनले सांस्कृतिक कलाकृतिहरुको अवैध ओसारपसार विरुद्धको लडाईमा सधै साथ रहेको पनि बताए ।

जिल्ला न्यायधिवक्ता ब्रागले आफूहरु पुरातात्त्विक वस्तुहरूको तस्करी नेटवर्कलाई लक्षित गरेर अनुसन्धान अघि बढाएको भन्दै जति जटिल भए पनि यस्तो जालो तोड्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालबाट हराएका अन्य ऐतिहासिक वस्तुहरुको खोजिका लागि सधै सहयोग गर्ने पनि बताए ।

यसअघि महावाणिज्य दूतावासको पहलमा १०औं शताब्दीदेखि १७औं शताब्दीका १६ वटा पुरातात्त्विक मूर्ति तथा वस्तु स्वदेश फर्काउन नेपाल सरकार सफल भएको छ । प्राप्त भएका मूर्ति परराष्ट्र मन्त्रालय, नेपाल पुरातत्त्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी महावाणिज्य दूतावासले छिट्टै नेपाल पठाउने बताएको छ ।

( नेपाल समाचारपत्रबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.