चार प्रदेशमा भारी बर्षाको संभावना

| 2023 Aug 05 | 07:16 am 1413

काठमाडौँ, साउन २०। हाल नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्यप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज बिहान कोसी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। (हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.