कर्णालीमा ‘मगमग’ ठाडीभाका

रिपोर्ट नेपाल | 2022 Aug 22 | 08:02 am 297

जुम्ला, भदाै ६ः ‘कर्णाली ’ । झट्ट सुन्दा जटिल, भूगोल र पिछडिएको चित्र आँखा अघिल्तिर छाउँछ । तर, कर्णालीले प्राकृतिक र ऐतिहासिक महत्व बोकेको छ ।

मुलुकलाई भाषा दिएको सिँजा, प्राकृतिक औषधि जडीबुटी, खस सभ्यता, मार्सी चामल र स्याउ यहाँका पहिचान हुन् । वनपाखा र मेलापातमा घन्किने ‘ठाडीभाका’ अर्को पहिचान हो ।

कर्णाली राजमार्गछेउमै जुम्ला तातोपानी–२ बाबिरा गाउँ पुग्दा स्थानीय कलाकार मन्न बुढाको स्वरमा ‘ठाडीभाका’ गुन्जन्छ । ‘पान सय’ क्षेत्रमा ख्याति कमाएका मन्नले तीन वर्षअघि सिँजा उपत्यकामा पुगेका पर्यटकलाई ‘ठाडीभाका’ सुनाएर मन जितेको बिर्सेका छैनन् ।
यहाँको रहनसहन, वातावरण, समाज र संस्कृति समेटेर ‘ठाडीभाका’ सुनाउने मन्न बुढालाई स्थानीय ‘अनमोल सम्पत्ति’का रूपमा लिएका छन् । उनले राजधानीसँग ‘ठाडीभाका’को अंश यसरी सुनाए,

उन्नलाई बिँयालो, लाउनलाई रानी पोत राम्रो
घाम छ कि सिँयालो, तिमी बस्ने डेरातिर…

‘ठाडीभाका’ले मनको बह मात्रै पोख्दैन, सामाजिक चेतना अभिवृद्धिसमेत गर्छ । जाजरकोटका रेखा सिंह ‘ठाडीभाका’मार्फत छोरीचेलीलाई ‘पिर चिन्ता नगर्न’ आग्रह गर्छिन्,

भतिजो घिउ खाला, कान्छो भाइ कुराउनी खाला
चिन्तैमा जिउ जाला, चिन्ता नगर परानीअ…

‘ठाडीभाका’ प्रायः एक्लै गाउने गरिन्छ । रेडियो, मोबाइल साथमा हुनेले सुखदुःखका बेला गीत सुन्छन् । तर, कर्णालीका महिला ‘ठाडीभाका’ घन्काउँदै मनका पीडा पोख्छन् ।

हरिया रङको कान्छी बहिनी ढडो बान्छे
घर छैन ढंगको, माइत छैन राम्रो वचन…

चन्दननाथ–१० की हस्तना न्यौपाने जीवनको भोगाइ सम्झिँदै मनको बह यसरी पोख्छिन्,

पाटनको पल्लो छेउमा फूल फुलेको प्याउली
मान्छे दुःखी मै जन्मेछु, चरी दुःखी न्याउली
पुर्सो डाँफे इज्जर खन्दो माउँ डाँफे जिलाउँदो
कुहिरोजन लाग्न्या माया हिउँजन बिलाउँदो…

कर्णालीको पहिचान ‘ठाडीभाका’ आधुनिकताको प्रभावले ‘छायामा पर्दै गएको’ भन्दै स्थानीय बूढापाका चिन्तित छन् । यसको संरक्षण गर्नु पछिल्लो पुस्ताको दायित्व पनि हो । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.