उच्च पदस्थ सरकारी कर्मचारीले अवकाश लिएको दुई वर्षसम्म कुनैपनि एनजिओ, आइएनजिओमा काम गर्न नपाउने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् । पत्रकार महासंघ कास्की शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले यस्तो बताएपछि यतिबेला सम्बन्धित कर्मचारी वर्गा तरंगित बन्न पुगेका छन् ।
राष्ट्रसेवक कर्मचारी अवकाश पाउने बित्तिकै एनजिओ, आइएनजिओमा काम गर्दा राष्ट्रको गोपनियता भङ्ग हुने भएकोले यस्तो व्यवस्था गर्नुपरेको मन्त्री पण्डितको भनाई छ । राष्ट्र सेवक कर्मचारीलाई अवकाशपश्चात मुलुकमै काम गर्नेगरी व्यवस्था गरिने बताउँदै उनले सरकारले कर्मचारीको सेवा सुविधाको उचित व्यवस्था गर्ने योजना रहेको बताए ।
स्थानीय तहमा ९५ प्रतिशत प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भइसकेको जानकारी दिँदै उनले अन्य स्थानमा पनि निकट भविष्यमा व्यवस्था गरिने जानकारी दिए । उनले तोकिएको ठाउँमा नजाने कर्मचारीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको पनि बताए ।