अवैध लागूऔषध सहित चार जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 31 | 01:41 pm 1770

काठमाडौं, पुस १६ :  छुट्टाछुट्टै स्थान पर्सा र कञ्चनपुरबाट अवैध लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा वीरगंज महानगरपालिका–३१ बेल्वास्थितबाट १ सय ६० केजी अवैध लागूऔषध चरेश सहित मकवानपुर हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरी का २९ वर्षीय सागर बललाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको ना ४ ख २९८५ नम्बरको ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा ट्रकको बडि र क्यावीनको बिचको भागमा फल्स बटम बनाई लुकाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध सहित फेला पारी चालक बललाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै पर्सा, वीरगंज महानगरपालिका–९ आदर्शनगर नजिकबाट काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने २८ वर्षीय रितू थापा र २१ वर्षीय सुबिना नगरकोटीलाई अवैध लागूऔषध डाईजेपाम ६१ एम्पुल, फेनारगन २२ एम्पुल र नोर्फिन १७ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेको अवस्थामा शंका लागी जाँच गर्दा उक्त लागूऔषध सहित उनीहरुलाई पक्राउ गरको छ ।

त्यसैगरी कञ्चनपुर पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारबाट कैलाली धनगढी उपमहानगरपालिका–२ का २८ वर्षीय राजेन्द्र जोशीलाई क्याप्सुल ६१ थान र लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा शरीरमा लुकाइ छिपाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध सहित उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.