‘टिम महेश’ बाट उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मीद्वारा आफ्ना एजेंडा सार्वजनिक

| 2023 Oct 12 | 10:02 am 1541

काठमाडौँ,  असोज २५ । आउँदो सातादेखि  सुरु हुन लागेको गैर आवासीय नेपाली संघको  ११ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले नेतृत्व गरेको टिम महेशबाट उपाध्यक्षका उम्मेदवार  राजु (राज) रेग्मीले मातृभूमिको समृद्धिकोलागी सामूहिक लगानी प्रवर्द्धन, स्वरोजगार, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगार तथा  प्राविधिक शिक्षालयको स्थापना आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन्।

कतारलाई कर्मथलो बनाएका सफल व्यवसायी रेग्मीले  एनआरएनएको संस्थागत गरिमा बढाउने र समृद्ध नेपालको सपनालाई सार्थक तुल्याउन आफ्नो टिमले काम गर्ने बताए।  ११ औं महाधिवेशनको पूर्व सन्ध्यामा एक अपिल जारी गर्दै हाल संघका युवा उपाध्यक्ष रहेका रेग्मीले संसार भरिका प्रवासी नेपालीहरुको सहयोगबाट मातृभूमिको समृद्धिका लागि  आफ्नो टिमले काम गर्ने बताए ।

खासगरी नेपालमै स्वरोजगार वृद्धि गर्न र विदेशबाट विभिन्न सीप बोकेर फर्केका ‘रिटर्नी माइग्रेंट’ हरु का  लागि  नेपालमा नै रोजगार श्रृजना गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

रेग्मीको अपिल:

आदरणीय गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,

नमस्कार ।

यहाँहरुको साथ र सहयोगको पूर्ण विश्वासका साथ आगामी अक्टोवर १७ देखि २० तारिखसम्म काठमाण्डौमा सम्पन्न हुन गईरहेको गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनमा मैले संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। हाम्रो यो पबित्र अभियान एवं हाम्रो मातृभूमिको हितको लागि मैले बनाएर हिडेंका कार्ययोजना र प्रतिबद्धतालाई सफल र परिणाममुखी बनाउन यहाँहरु सवैको साथ र सहयोगको लागि हार्दिक अपील गर्दछु।

मलाई विश्वास छ। यहाँहरुको सहयोगबाट एनआरएनएको संस्थागत गरिमा बढाउने र समृद्ध नेपालको सपना हाम्रै पालामा सार्थक बनाउने मेरो संकल्प साकार हुने छ। मेरा प्रतिवद्धताहरुलाई घोषणा पत्रमा मात्रै सिमित नराखेर यहाँहरुले दिएको अख्तियारीको फैसलाको दिनबाट नै कार्य सुभारम्भ गर्ने प्रण गर्दछु। एनआरएनएको सामीप्यतामा रहे देखि मैले नेपाली समूदायमा गरेको कार्यहरु र मेरो पदीय जिम्मेवारीमा रहँदाको समयमा मैले गरेका संस्थागत र मानवीय कार्यहरुको बारेमा मैले भन्नु भन्दा पनी यहाँहरुनै जानकार हुनुहुन्छ। तसर्थ यहाँहरुको प्ररेणा र सहयोगको विश्वासको निरन्तरताले अझै केही गरौं भन्ने उत्साह बढेर आएको छ।

मेरो प्रतिबद्धताको संक्षेपीकरण स्वरुप मेरो प्रमुख योजनामा पर्ने मातृभूमिको समृद्धिको लागि सामूहिक लगानी, स्वरोजगार, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगार,प्राविधिक शिक्षालय र अन्य योजना स्वास्थ्य,पर्यटन, परोपकार र संघको संस्थागत व्यवस्थापकीय विकास नै हुने छन। वर्तमान समयमा हाम्रो प्राथमिकतामा रहेका युवा, महिला तथा श्रममैत्री कार्यहरु अझ वैज्ञानिक र प्रविधियुक्त तवरबाट अगाडी बढाई नेपालमा स्वरोजगार व्यवस्थापन र विशेष गरी रिटर्नी माइग्रेंट’ हरुलाई नेपालमा नै रोजगार श्रृजनामा विषेश पहल रहने छ। तसर्थ मेरा पवित्र सपनाहरुलाई साकार बनाउनको लागि तपाईहरुको साथ, सहयोगको अपेक्षा र अमूल्य सुझावको लागि हार्दिक अनुरोध गर्दछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.