एनआरएन फाउण्डेशन अध्यक्षमा थापा, सदस्यमा ढकाल र परियार मनोनित

| 2023 Oct 06 | 11:18 am 1741

काठमाडौँ, असोज १९ ।  एनआरएन फाउण्डेशनको हालै बसेको बैठकले फाउण्डेशनको अध्यक्षमा रामप्रताप थापालाई नियुक्त गरेको छ।

संघका पूर्व प्रमुख संरक्षक पनि रहेका थापाले संघका संस्थापक सचिव चिरन्जीवी ढकाल तथा बिष्णुमाया परियारलाई सदस्यमा मनोनयन गरेका छन्।

गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेको एनआरएन फाउण्डेशन गत २०७८ आश्विन ४ मा नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत दर्ता गरिएको थियो।

फाउण्डेशनका अध्यक्ष जीवा लामीछानेले कार्यव्यस्तताको कारण देखाउँदै राजीनामा दिए पछि थापालाई अध्यक्षमा नियुक्त गरिएको हो।

“एनआरएनएसंग समन्वय गरी पारदर्शी र प्रभावकारी किसिमले नेपालमा कल्याणकारी कार्यहरु सम्पन्न गर्ने उद्देश्यले यो फाउण्डेशनको स्थापना गरिएको हो। अब छिट्टै विधान समितिको बैठक बसालेर नीतिगत कुराहरु स्पष्ट पार्नेछौं,” नवनियुक्त अध्यक्ष थापाले भने।

नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरू सम्पन्न गर्ने अभिप्रायले स्थापित एनआरएन फाउण्डेशन एक व्यावसायिक, सीमित दायित्व भएको, गैर नाफामूलक, गैरराजनीतिक, तथा गैरसरकारी संस्थाको रुपमा रहने विधानमा उल्लेख छ।

” गत २० वर्षमा गैरआवासीय नेपालीहरुले संस्थागत तथा व्यक्तिगत रुपमा अरबौं रुपियाँ बराबरको सहयोग नेपालमा गरेका छन्। आगामी दिनमा त्यस्तो सहयोगलाई अरु बढी योजनावद्ध र प्रभावकारी बनाउन हामीले काम गर्नेछौं,” नव नियुक्त सदस्य ढकालले भने।

फाउण्डेशनका संस्थापक सदस्यहरुमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षहरु कुमार पन्त, जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकारहरु कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल र अभिनेत्री मनिषा कोइराला रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.