धनुषा, चैत १ जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सङ्ख्या ११ पुगेको जनाइएको छ ।
होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले धनुषाले जनाएको छ ।
एक साताअघि मृत्यु भएका पाँचको विषाक्त मदिरा सेवनबाट नै भएको आशङ्का गरिएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले घटना बारे अनुसन्धान शुरु गरिएको जानकारी दिए ।
अन्य चारजना रम्दैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए ।
अवैध मदिरा बिक्री गरेको अभियोगमा स्थानीय रामानन्द साह र एक महिलालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरिएको जनाइएको छ ।
अहिले पुरै गाउँ शोकमा डुवेको छ । आर्थिक रुपले विपन्न परिवारका व्यक्तिको मृत्यु भएको जनाइएको छ ।