काठमाडौं, असाेज १५ : सभामुख कृष्णबहादुर महरामाथि दुव्र्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीले आफू लामो समयदेखि ‘डिप्रेसन’मा रहेको बताएकी छन् । सञ्चारकर्मीसँग मंगलबार कुराकानी गर्दै उनले आफू चारपाँच वर्षदेखि मानसिक समस्यामा रहेको र चिकित्सकको सल्लाहबमोजिम तीन वर्षदेखि लगातार ‘डिप्रेसन’को औषधि सेवन गर्दै आएको बताइन् । “मेरी आमाको निधन भएपछि म मानसिक रूपमा कमजोर भएको छु । निद्रा नलाग्ने भएपछि औषधि खानुपर्ने स्थिति थियो”, उनले भनिन् । चिकित्सकले बिहान र बेलुकी एकएक ओटा चक्की औषधि खान सुझाव दिए पनि रिस उठेमा आफूले कहिलेकाहीँ एकै चोटि पाँच–छ तथा दश वटा पनि औषधि खाइदिने गरेको उनले सुनाइन् ।
आवेगका क्रममा कसलाई फोन गरेँ, कसलाई के भनेँ, के बोलेँ भन्ने नै पत्तो नपाउने उनको भनाइ छ । “शायद मेरो यही रिसको झोकमा सभामुख पर्नुभएको होला”, उनले भनिन् । “कहिलेकाहीँ कोहीकसैसँग रिस उठ्यो भने औषधिको मात्रा बढी खाइदिने मेरो समस्या हो । एक्कासि औषधिको मात्रा बढाएपछि अत्यन्त रिस उठ्ने, कसलाई के भन्ने नै थाहा नहुने समस्या छ । कसलाई फोन गरँे, कसलाई के गरेँ भन्ने नै थाहा पाउँदिन”, उनले भनिन् । केही वर्षअघि स्वयं आफू पनि सञ्चारकर्ममा रहेको सन्दर्भ पेश गर्दै उनले अहिले सञ्चारमाध्यमले ‘हाइलाइट’ हुने नाममा कोहीकसैलाई दोषी करार गर्न लागिपरेको देख्दा आफू अचम्मित भएको समेत बताइन् ।
सोमबार महिलाको आरोप–यतिसम्म गर्नुहोला भन्ने सोचेकी थिइनँ
- उहाँ (सभामुख महरा)ले साँझ ७ बजे ‘म आउँछु’ भनेर फोन गर्नुभयो । केहीबेरमा रक्सी बोकेर आउनुभयो, आज दसैँ मनाऊँ भन्नुभयो । पहिल्यै खाएर आउनुभएको रहेछ, फेरि दुई गिलास खानुभयो ।
- कोठामा पस्नेबित्तिकै जबर्जस्ती गरेपछि ममाथि कुटपिट पनि भयो । कुटाइले जिउ थिलथिलो भएको छ । योभन्दा पहिले पनि उहाँबाट ममाथि दुव्र्यवहारको प्रयास भएको थियो ।
- उहाँलाई मैले ०४७ सालदेखि नै चिनेकी हुँ । रोल्पा हुँदा उहाँकै घरमा बस्थेँ । त्यहाँ बस्दा फेमेलीजस्तै भइसकेको थियो । यतिसम्म गर्नुहोला भन्ने सोच्या थिइनँ । प्रहरी बोलाउँछु भनेपछि मात्रै उहाँ जानुभयो । ‘यतिसम्म गरिस्, कि तँ हुँदैनस्, कि म रहन्नँ’ भनेपछि जानुभएको हो ।
- उहाँले (महरा)ले कति वेला आऊँ, के गरौँ भनेर जतिवेला पनि त्यही कुरा गर्नुहुन्थ्यो । त्यो भन्दा मलाई मनै पर्दैन थियो । (हाम्राकुरा डटकम)
मंगलबार उनले भनिन्– उहाँ मेरो बाउसमानको मान्छे
- उहाँ (सभामुख महरा) मेरो डेरामा आउनुभएकै छैन, नआएको मान्छेलाई आएको भनेर कसरी भन्नू ? संसद्मा उहाँको प्रेसर जाँच्ने क्रममा भेट हुने हो, कहिलेकाहीँ फोनमा पनि कुरा हुन्छ ।
- मैले उहाँलाई मेरो बुबाजस्तै सोच्छु । उमेर पनि बाउकै जस्तो छ । त्यही भएर मैले उहाँलाई बाउलाई गर्नुपर्ने रेस्पेक्ट गर्छु । बाउछोरीकै नातामा कसैले शंका गर्छ र त्यसमा अनेकथरी कुरा गर्छ भने त्यसमा मलाई कुनै लेनादेना छैन, तिनीहरूले नै भोग्नुपर्ला ।
- मैले एकपटक सभामुखज्यूसँग हाम्रो समायोजनबारे कुरा गरेकी थिएँ । मेरो समायोजन निकै दुर्गम ठाउँमा भाको छ, त्यो मिलाइदिनुहोला भनेकी थिएँ । ‘हुन्छ, हुन्छ’ भन्नुभएको थियो, तर गर्नुभएन । त्यसपछि मलाई पनि रिस उठ्यो । म अलिकति डिप्रेसनमा पनि छु । औषधि खाइरहेकी छु । समायोजनको विषयमा उहाँसँग फोनमा झगडा पनि भयो ।
- हिजो मलाई मिडियामा त्यस्तो बोल्न प्रभावित पारेको मेरै रिसले हो, अरू कसैले होइन । डिप्रेसनको औषधि पनि हाइडोजमै लिइरहेकी थिएँ । रिसकै तालमा प्रहरीलगायत क–कसलाई फोन गरे थाहा छैन । तर, अहिले सुनियोजित तरिकाले उहाँलाई पदच्युत गरेर त्यसमा आफू ‘स्टाब्लिस’ हुने खालको माहोल मैले देखेँ । (नागरिकखबर डटकम)