समता स्कुल र पहलकाे आयोजनामा ३ सय १५ जना कैदीबन्दीले गर्याे रक्तदान

रिपोर्ट नेपाल | 2019 Aug 11 | 07:30 am 2307

पर्सा, साउन २६: वीरगन्ज कारगारमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ३ सय १५ जना कैदीबन्दीले रक्तदान गरेका छन्। पर्सा, बारा, रौतहट र सर्लाहीका बिरामीहरुलाई रगत उपलब्ध गराउने वीरगन्जको रक्तसन्चार केन्द्रमा रगतको अभाव भएपछि ३ सय १५ जना बन्दीहरुले रगत दान गरेका हुन्। ती मध्ये १७ जना महिला र २ सय ९८ जना पुरुष हेका छन्।

वीरगन्ज कारगार परिसरममा रहेको बन्दीका बालबालिकाहरु अध्ययनरत रहेको समता स्कुल र पहल नामक गैर सरकारी संस्थाले शुक्रबार कारगार परिसरमै रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा ३ सय १५ बन्दीका साथै ५१ जना सर्वसाधरण र सुरक्षाकर्मीहरुले पनि रक्तदान गरेका छन्।

बन्दीका लागि कारगारभित्रै र सर्वसधारणका लागि समता स्कुल परिसरमा रक्तदानको व्यवस्था गरिएको थियो। वीरगन्ज कारागार परिसर र कारागारभित्र गरी दुई स्थानमा आयोजित रक्तदान कार्यक्रममा कैदीबन्दी सहित कुल ३ सय ६६ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जकी प्राविधिक डिल्ली माया घिमिरेले जानकारी दिइन्  ।

रक्त सन्चार केन्द्रमा तीन महिना यता रगतको अभाव हुँदा अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचार नै प्रभावित भएको खबर सञ्चारमाध्यमबाट थाहा पाएर कैदीबन्दी स्वयम‍्ले नै रगत दान गर्न इच्छा देखाएपछि कारगार परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको पहलका अध्यक्ष दिलीपराज कार्कीले जानकारी दिए।

रक्तदान गरेका बन्दीफ सञ्जयकुमार साहले भने,‘ब्लड बैंकमा रगतको चरम अभाव भएका कारण बिरामीहरु अस्पतालमा छट्पटाइ रहेको समाचार एफएम रेडियोबाट सुनेपछि हामी सबै कैदी बन्दीले रक्तदान गर्ने सल्लाह गरेर जेलरलाई भन्यौँ। उहाँले नै बाहिरका संस्थासंग समन्वय गरेर कार्यक्रम गर्नुभयो अनि हामीले रक्तदान गरेका हौं।’

कारगारमा शनिबार भएको रक्तदान कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर, कारागार प्रमुख श्रवणकुमार पोखरेल, सामाजिक अभियन्ता प्रकाश थारु , डाक्टर मनोजकुमार गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो।   अन्नपूर्ण पाेष्ट दैनिकमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.