बानेश्वर प्रहरीद्वारा अवैध घरेलु डिस्ट्रिलरीमाथि छापा

रिपोर्ट नेपाल | 2019 Mar 16 | 05:51 pm 5839

काठमाडौं, चैत्र २ : महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बानेश्वरमा रहेको सुकुम्बासी टोलको एक घरमा छापा हान्दा अवैध मदिरा उत्पादन गर्ने डिस्ट्रिलरी फेला पारेको छ ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेको नेतृत्वमा गरिएको अप्रेशनमा ठूलो मात्रामा अवैध मदिरा बनाउने कच्चा सामाग्री बरामद गरिएको थियो ।

अखाद्य वस्तु र महिलाले महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड देखि मोजा, प्लास्टिक र अन्य दुर्गन्धीत वस्तुसहितको कच्चा सामाग्री फेला परेको थियो । दमाई सिंह तामाङले संचालन गरेको अवैध डिस्ट्रिलरीका विषयमा स्थानीय बासीको सूचनाको आधारमा प्रहरीले घावा बोलेको थियो ।

दमाई सिंह तामाङको घरको भित्री कोठामा संचालन गरिएको डिस्ट्रिलरी खुला शौचालयको सामुन्ने रहेको थियो । तामाङको घरबाट प्रहरीले मदिरा बनाउने सखर र मदिरा बनाउन तयार गर्ने सामाग्री सडाउन प्रयोग गर्ने रसायनीक विषादी समेत फेला पारेको थियो ।

पटक पटक प्रहरीले सम्झाउँदा र टोल टोलमा चेतनामुलक कार्यक्रम गर्दा समेत अटेर गरेपछि प्रहरीले बाध्य भएर छापा हानेको हो । मदिरा बनाउन प्रयोग गरीने सामाग्री अत्यन्तै फोहर र गाँज उठेको पाइएको थियो ।

दुई सय लिटरका ठूला ड्रम र दर्जनौं साना ड्रममा राखिएको उक्त सामाग्री प्रहरीले संचारकर्मीको रोहवरमा नष्ट गरेको थियो । प्रहरीले अप्रेशन शुरु गर्दा गरीबले के गरेर खाने भनेर प्रश्न गर्नेहरु पछि सामाग्रीमा राखिएका वस्तु देखेपछि यस्ता समाज विरोधिलाई कार्बाही गर्नुपर्छ भनेका थिए । केही सचेत महिलाहरुले त यस्ता व्यक्तिका कारण टोल नै दुर्गन्धीत भएको बताएका थिए ।

ति महिलाले यस्तो विषादी आफ्नै श्रीमान, भाई, छोरालाई खुवाएको भन्दै हदैसम्मको कारबाही गर्न समेत डिएसपी काफ्लेसँग माग गरेका थिए । अप्रेशनकै क्रममा त्यहीका एक बासिन्दाले एक जना गरीबका लागि हजारौंको स्वास्थ्य माथि खेलवाड गर्नेको डिस्ट्रिलरीमा प्रहरीले गरेको कारबाही प्रशंसनीय भएको बताएका थिए ।

अप्रेशनमा बानेश्वरका सबै सिनियर अधिकृत समेत सहभागी भएका थिए । बानेश्वर प्रहरीले अवैध मदिरा बनाउने डिस्ट्रिलरीमा गरेको कारबाही अहिलेसम्मकै ठूलो भएको प्रहरीको दावा छ । अप्रेशन पछि प्रहरीले यस्ता अवैध र गलत क्रियाकलाप नगर्न टोलबासीलाई सम्झाएको थियो ।

अप्रेशनका क्रममा २० हजार लिटर भन्दा बढी मदिरा नष्ट गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.