गायिका विष्णु माझीलाई ११ वर्षपछि बाबुले भेटे प्रहरी कार्यालय

रिपोर्ट नेपाल | 2019 Jan 07 | 07:26 am 2087

स्याङ्जा, पुस २३ : आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो र‌ंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएकी एक महिला निस्किइन् ।

दुवै जना प्रहरी प्रमुखको कार्यकक्ष खोज्दै कार्यालयभित्र पसे। ती महिला अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी थिइन् भने उनीभन्दा अघिअघि हिँड्ने उनकै श्रीमान् सुन्दरमणि अधिकारी। माझी गुमनाम रहेको समाचार प्रकाशित गरेपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन्।

विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आइन्। एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए।‘सुन्दरमणिलाई बिहीबार फोन गरेको थिएँ’ एसपी लम्सालले भने, ‘विष्णुजी आउनुहुन्छ कि तपाईँले ल्याउनुहुन्छ? यदि तपाईँले नल्याए हामीले ल्याउनु पर्ने हुन्छ भनेको थिएँ। सुन्दरमणिले शुक्रबार र शनिबार व्यस्त भएकाले आइतबार आउने वचन दिएका थिए, आए।’ समाचारमा विष्णु गुमनाम रहेको र बाबुसँग पनि ११ वर्षदेखि भेट नभएको उल्लेख गरेको थियो। कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए।

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए। सुन्दरमणिसँगै बसेका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ।

बाबु–छोरीबीच ११ वर्षपछि भेट

सुन्दरमणिसँग बिहेपछि गुमनाम जस्तै रहेकी विष्णुको ११ वर्षपछि बाबुसँग भेट भएको छ। बाबु ५८ वर्षीय ताराबहादुरले छोरी विष्णुसँग भेट नभएको११ वर्ष भएको यसअघि कान्तिपुरसँगको कुराकानीमा बताएका थिए । ताराबहादुरले सानै उमेरमा छोरी काठमाडौँ गएपछि घर नआउने र आफू पनि काठमाडौँ जान नसक्ने हुँदा भेट नभएको बताएका थिए।

आइतबार ताराबहादुरको छोरी भेट्ने सपना पनि पूरा भएको छ। प्रहरीले विष्णुको खोजी गरेर सम्पर्कमा आएपछि माइती पक्षलाई पनि बोलाएको हो। प्रहरीको बिचमा छोरी भेटेका ताराबहादुर भने केही बोल्न सकेनन्। छुट्टै कुरा गर्न पनि पाएनन्। विष्णु सुन्दरमणिसँग आउने र जाने गरिन्। आमा धर्मकुमारीले भने काठमाडौँ नै गएर छोरी भेट्ने गरेको बताएकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.