काठमाडौँ, कात्तिक ३0 : नियम कानुन बनाउँदै गर्दा केही महिना अगाडी उपत्यकामा संचालित ट्याक्सी चालकहरुलार्ई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गराएका थिए । फेरि काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ ।
आज शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र माइक्रोबस व्यवसायी संघका प्रतिनिधिहरुको संयुक्त बैठकले मंसिर १ अर्थात् भोली शनिबारदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकलाई सुन्तला र सहचालकलाई हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको जानकारी दिए । साथै माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुट, प्लेट राख्नेसमेत बैठकले निर्णय गरेको पन्तले बताए। प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुआत गरे पनि माइक्रोबसका चालक तथा सहचालकले नलगाई अटेर गर्दै आएका थिए ।
रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने महासंघका महासचिव सरोज सिटौलाले बताए । यस्तै ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्ने सिटौलाले बताए । तत्काल काठमाडौँ उपत्यकाभित्र मात्र यो व्यवस्था भएपछि आगामी दिनमा देशभर लागू गर्ने उनको भनाइ छ ।
यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो । अहिले उपत्यकाका झण्डै ९० प्रतिशतभन्दा बढी ट्याक्सी चालकले प्लोरोसेन्ट ज्याकेट लगाउँदै आएका छन् ।