अध्यक्ष दाहालद्वारा गलेश्वर मन्दिर अवलोकन

| 2018 Nov 13 | 01:08 pm 2108

म्याग्दी, कात्तिक २७ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेनीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको अवलोकन गरेका छन् ।

अवलोकण गर्ने क्रममा अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापा (बादल)ले समेत बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शन गरेका थिए । उक्त मन्दिर नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित रहेको गलेश्वर मन्दिरसँगै ढुङ्गामाथि कहिल्यै नसुक्ने जलकुण्ड, चट्टानमाथि पलाएका शिलालगायतको पनि अवलोकन गरेका छन् ।

सो ठाउँ धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा रहेको गलेश्वरको मन्दिरको महत्वबारे गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी र मन्दिरका पण्डित भीमनाथ पराजुलीले जानकारी गराएका थिए । जोमसोममा रहेको मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वरको ऐतिहासिक महत्व र यहाँको समस्याबारे जानकारी लिन अवलोकन भ्रमण गरिएको अध्यक्ष दाहालका निजी सचिव जोगबहादुर महराले जानकारी दिएका छन् ।

नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री थापाले आज मंगलबार बिहान म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना, बेनी–जोमसोम–कोरला सडक, बेनी बजारमा कालीगण्डकी नदीले गरेको कटानलगायतको स्थलगत अवलोकन गरेका छन् ।

जिल्लाको बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित अध्यक्ष दाहालका पत्नी सीताको उपचारको सिलसिलामा सोमबार म्याग्दी पुगेका अध्यक्ष दाहालसहित गृहमन्त्री रामबहादुर थापा र उनकी पत्नी नैनकलासहितको टोलीले आज दुई पटक तातोपानीमा डुबेर स्नान गर्ने तयारी रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.