प्रधानसेनापति थापा भोलि भारत भ्रमणमा जाँदै

| 2019 Jan 10 | 03:59 pm 1626

काठमाडाै‌, पुस २६ : प्रधानसेनापति पूर्णचन्द्र थापा भोलि (शुक्रबार)बाट भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा थापा पहिलो पटक औपचारिक भ्रमणमा जान लागेका हुन् ।

भारत भ्रमणमा रहँदा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति श्री रामनाथ कोविदले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । नेपाल र भारतबीच एक अर्को देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी दिने प्रचलन छ ।

प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै उनले सेनाका समकक्षीस्थल सेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नेछन् ।

यो भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच परम्परादेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रधानसेनापतिको भ्रमणदलमा श्रीमती दिपा थापा, सैनिक ईण्टेलिजेन्स महानिर्देशक उपरथी श्री झंकर बहादुर कडायत लगायत ७ जना रहने बताइएकाे छ। भारतको ६ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्कनेछन् ।

यसैबीच, नेपाली सेनाको प्रवक्ता एवं जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक पद सहायक रथी यामप्रसाद ढकालले सम्हाल्ने भएका छन् ।

यसअघिका प्रवक्ता एवं निर्देशक सहायक रथी गोकुल भण्डारीले आज एक कार्यक्रमकाबीच सहायक रथी ढकाललाई कार्यभार हस्तान्तरण गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सहायक रथी ढकालको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगत्बीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसञ्चार जगत्को सहयोग यथावत रहिरहने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.