८४ वर्षीया रतनकलीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Dec 28 | 01:11 pm 1509

कञ्चनपुर, पुस १२: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको मृत्यु भएको छ । २०३५ सालमा ल्याएका रतनकालीको चराउन निकुञ्ज लगेका बेला मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले जानकारी दिए।

हात्तीसारका कर्मचारीले बिहीबार रतनकलीलाई चराउन छेउमै लगेका थिए । प्रमुख संरक्षण अधिकृत पौड्यालका अनुसार हात्ती चर्दाचर्दै हात्ती बरेको र हात्तीसार ल्याउन नसकेपछि कर्मचारीले राति पहरा दिँदै गर्दा मृत्यु भएको बताए ।

रतनकलीलाई ४१ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा ल्याइएको थियो ।

बिरामी नभए पनि बूढेसकाल लागेकै कारण मृत्यु भएको र विधिप्रक्रिया अनुसार शुक्रबार अन्त्येष्टि गरिएको पौड्यालले बताए ।

रतनकलीको अन्येष्टिमा शुक्रबार निकुञ्ज प्रशासन, स्थानीय वडा कार्यालय, मध्यवर्ती, सेना र हात्तीसारका कर्मचारी सहभागी रहेको निकुञ्ज कार्यालयले जनाए ।

निकुञ्जमा दश वटा हात्तीको दरबन्दी रहे पनि सात वटा मात्रै थिए । प्रमुख संरक्षण अधिकृत ढकालले निकुञ्जको गस्ती, पर्यावरणका लागि अझै पाँच वटा हात्ती आवश्यक रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.