६५ वर्षमा ६४ ले गुमाए ज्यान

रिपोर्ट नेपाल | 2023 Apr 23 | 07:49 am 1321

दार्चुला, वैशाख १०ः  नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो।

घरबाट भारतीय बजार धारचुला सामान किन्न जाने क्रममा तल्लो दुम्लिङस्थित महाकाली नदीमा तुइनबाट खसेर उनको मृत्यु भएको वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए। नदीमा खसेलगत्तै स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा बुढाथोकी मृत अवस्थामा भेटिएको उनले बताए।

६५ वर्षमा ६४ बिलाए 

तुइनबाट खसेर मृत्यु भएको यो पहिलो घटना होइन। पछिल्ला ६५ वर्षमा दार्चुलाका मात्रै ६४ जना यसरी नै महाकालीमा बिलाएका छन् तर तीमध्ये तीन जनाको मात्रै शव भेटिएको छ। ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन्। २०१६ यता तुइनबाट महाकालीमा खसेकामध्ये व्यास गाउपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारी, व्यास गाउँपालिका–५ का दिलीपसिंह धामी र वीरसिंह धामीको शव मात्रै भेटिएको छ।

सबैभन्दा बढी व्यास गाउँपालिका–२ का मात्रै २५ जना तुइनबाट खसेर बेपत्ता भएका छन्। व्यास–६ का आठ, व्यास–५ का १९, व्यास–३ का पाँच र व्यास–४ का तीन जना बेपत्ता छन्। दार्चुलाकै नौगाड गाउँपालिकाका एक, दोलखाको भीमेश्वर नगरपालिका–६ का एक, कैलाली लम्कीका एक र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन्।

सबैभन्दा धेरै १२ जना व्यास–२ को तल्लो दुम्लिङघाटस्थित तुइनबाट खसेका छन्। व्यास–५ को ठन्डापानीस्थित तुइनबाट ११, व्यास–२ को मालघाट तुइनबाट नौ, व्यास–५ को तिगरमघाटबाट छ र व्यास–६ को एलागाड तुइनबाट पाँच जना महाकालीमा खसेर बेपत्ता भएका छन्। व्यास–४ को मगडागाउँबाट चार तथा व्यास–६ को कालागाड, व्यास–५ को नाजीघाट र फताङघाटबाट तीन–तीन जना बेपत्ता भएका छन्। बिन्दलामा दुई तथा कल्जु, महाकाली, बर्तीघाट, बल्जुडी र घाटीबगडस्थित तुइनबाट एक–एक जना हराएका छन्। दोलखा भीमेश्वर–६ स्थायी घर भएका इन्जिनियर ४२ वर्षीय राजेन्द्र न्यौपाने १३ जेठ २०७६ मा व्यास–४ को बर्तीघाटस्थित तुइनबाट खसेका थिए। विश्व खाद्य कार्यक्रम लागू भएको तत्कालीन सुनसेरा गाविस जाने क्रममा उनले तुइन प्रयोग गरेका थिए।

ट्युबबाट तर्दा पाँच जनाको मृत्यु

पुल र तुइन नभएका ठाउँमा ज्यान जोखिममा राखेर ट्युबबाट पनि महाकाली वारपार गर्न बाध्य छन्। महाकालीले सीमा छुट्याएका दार्चुलाका सीमा क्षेत्रका स्थानीयले खाद्यान्नलगायत दैनिक आवश्यकताका सरसामानको जोहो विगतदेखि भारतबाटै गर्दै आएका छन्। आउजाउका लागि नजिक तुइन नहुनेले गाडीको ट्युब प्रयोग गरेर महाकाली वारपार गर्नुको विकल्प हुँदैन। यस क्रममा पाँच जनाले ज्यान गुमाएका छन्। उनीहरू सबै लेकम गाउँपालिकाका हुन्।

२०६९ मा ३२ वर्षीय दामोदर जोशी र ३० वर्षीय अर्जुन पन्तले लेकम–३, खन्याघाटमा ट्युबबाट महाकाली तर्ने क्रममा ज्यान गुमाउनुभएको थियो। त्यसको तीन वर्षअघि २०६६ मा ३५ वर्षीय शिवराज पन्तले लेकम–३ स्थित गौडेगाडाबाट ट्युबमा महाकाली तर्दातर्दै ज्यान गुमाएका थिए। २०६१ मा १७ वर्षीय गणेश धामी र ४८ वर्षीय मणिदत्त जोशी पनि लेकम–३ स्थित पुलघाटबाट ट्युबमा महाकाली तर्ने क्रममा त्यहीँ बिलाएका थिए।

१० वटा झोलुङ्गे पुल

दार्चुलास्थित महाकाली नदीमाथि नेपाल–भारत जोड्ने १० वटा झोलुङ्गे पुल सञ्चालनमा छन्। नेपाल सरकारको तुइन विस्थापन कार्यक्रमअन्तर्गत पछिल्ला दुई वर्षमा महाकालीमा चारवटा पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। वि.सं. २०७३ यता लेकम गाउँपालिका–३ लाली, मालिकार्जुन गाउँपालिका–६ बाँकु, व्यास गाउँपालिका–६ बडूगाउँ र तिगरम, व्यास गाउँपालिका–२ मालगाउँ र व्यास–४ मलघट्टेमा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो। यसअघि दार्चुला सदरमुकाम खलङ्गास्थित पुलघाट, महाकाली नगरपालिका–९ दत्तु, व्यास गाउँपालिका–१ सीतापुल र मालिकार्जुन गाउँपालिका–७ जोलजिवीमा पुल सञ्चालनमा थिए।

दार्चुलाको महाकाली नगरपालिका–८ असीगडा र भारत पिथौरागढको मल्लाछारछुम जोड्ने गरी सुदूरपहाडमै पहिलो मोटरेबल पुल निर्माणको काम भइरहेको छ। व्यास गाउँपालिका–२, दुम्लिङमा भने अझै झोलुङ्गे पुल बनेको छैन। स्थानीयले पटक–पटक झोलुङ्गे पुल बनाउन माग गरे पनि सुनुवाइ हुन नसकेको गुनासो गरेका छन्।

महाकालीमा धमाधम पुल बनेसँगै तुइन र ट्युब विस्थापन हुँदै गएको व्यास गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो। यद्यपि केही ठाउँमा अझै पनि तुइन सञ्चालनमै रहेकोले केही मानिसले अकालमै ज्यान गुमाउँदै आएका हुन्। पुल आवश्यक भएको ठाउँमा थप पुल निर्माण गरेर तुइन पूर्ण रूपमा बन्द गर्नुपर्ने स्थानीयको माग छ। गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.