६ वर्षपछि भाइटीकामा खुल्दै,रानीपोखरी

रिपोर्ट नेपाल | 2021 Nov 01 | 07:52 am 1845

काठमाडौं, कात्तिक १५ः ६ वर्षपछि पहिलोपटक यसपालि भाइटीकाको दिनमा रानीपोखरी खुल्ने भएको छ । भाइटीकाको दिनमा खुले पनि छठमा भने बन्द रहने काठमाडौं महानगरपालिकाले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेकाले ६ वर्षपछि भाइटीकाका दिन रानीपोखरी खुल्न लागेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल समाचारपत्रसँग कुरा गर्दै यो वर्ष व्यवस्थित रूपमा दर्शन र टीकाको कार्यक्रम गर्ने गरी एक दिनका लागि रानीपोखरी खुला गर्न लागिएको जानकारी दिए । रानीपोखरी परिसरलाई सौन्दर्यीकरण गर्न थप गृहकार्य भइरहेको बताउँदै उनले भने– ‘राजधानीको बीच भागमा रहेको रानीपोखरीले राजधानीको परिचय दिने भएकाले यसलाई थप सुन्दर पारेर मात्र खुला गर्ने तयारीमा छौं ।’

दिदीबहिनी नभएकाले भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा टीका लगाउने प्रचलन छ । विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले रानीपोखरीलाई पूर्णरूपमा क्षति पु-याएको थियो । पुनर्निर्माण पूरा नभएका कारण अघिल्लो वर्ष रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बाहिरै टीका लगाइएको थियो ।कामपाको स्वामित्वमा रहेको रानीपोखरी पुनर्निर्माण गर्ने विषयमा पुरातत्व विभाग र कामपाबीच विवाद भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएको थियो । प्राधिकरणले काम शुरु गरेको करिब तीन वर्षमा पुनर्निर्माण सम्पन्न गरेको छ ।काम सम्पन्न गरे पनि हालसम्म प्राधिकरणले स्वामित्व हस्तान्तरण नगरेको मेयर शाक्यको भनाइ छ । उनका अनुसार स्वामित्व हस्तान्तरण नगरेको कारण बाँकी काम गर्न र छठमा खुला गर्न समस्या परेको हो ।

रानीपोखरी सर्वसाधारणका लागि खुला गर्ने विषयमा कार्यपालिकाको बैठक बसेर निर्णय गरिने जानकारी गराउँदै उनले भने– ‘सबै सदस्य बसेर निर्णय गर्नेछौं । पुनर्निर्माण प्राधिकरणले रानीपोखरी कामपालाई हस्तान्तरण गरेपछि मात्रै कसरी आकर्षक र व्यवस्थित रूपमा खोल्ने भन्ने विषयमा निर्णय गरिनेछ ।’कामपा प्रहरी प्रमुख धनपति सापकोटाका भने भाइटीकाको दिन मात्र खुला गर्ने र त्यसपछि सम्पूर्ण रूपमा तयारी नभएसम्म खुला नगरिने भनेर कुनै निर्णय नभएको बताए । उनका अनुसार भूकम्पअघि दुई वर्षसम्म रानीपोखरीमा छठ मनाउन स्वीकृत दिइएको थियो र त्यसयता बन्द गरिएको हो ।

छठमा फोहोर बढी हुने भएकाले रानीपोखरीमा छठ मनाउने परम्परा रोक्नका लागि कामपाले भाइटीकाको दिन व्यवस्थित रूपमा दर्शन गर्ने व्यवस्थापछि पुनः बन्द गर्ने तयारी भइरहेको उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले बताइन् । उनले भनिन्– ‘यो वर्ष मात्र होइन, रानीपोखरीमा छठ मनाउने परम्परा रोक्नेछाै ।’ उनले रानीपोखरीभन्दा नदीमा छठ मनाउँदा आनन्द आउने धारणा पनि राखिन् ।अघिल्लो वर्ष माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रानीपोखरीको उद्घाटन गरेका थिए । उक्त दिन तत्कालीन प्रधानमन्त्री ओलीले रानीपोखरीसँगै दरबार हाईस्कुलको समेत शिल्यान्यास गरेका थिए ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिरको स्वरूप भने विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको थियो । पुरातत्व विभागले समेत गुम्बर शैलीमा पुनर्निर्माण शुरु गरेको थियो । विज्ञहरूको सल्लाहपछि शिखर शैलीमा पुनर्निर्माण गरिएको थियो ।

१ सय ८० मिटर लम्बाइ र १ सय ४० मिटर चौडाइ रहेको सो पोखरी ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको छ । रानीपोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि प्रताप मल्ल र उहाँका दुई छोरा मोहिपतेन्द्र र चक्रवर्तेन्द्रको शालिक छ । विसं १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरीको बालगोपालेश्वर मन्दिरलाई अहिलेको स्वरूप दिएको इतिहासमा उल्लेख छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.