निर्मला बलात्‍कारपछि हत्या प्रकरण: काठमाडौंमा विशाल प्रदर्शन

‘५० दिन नाघिसक्यो, खै त न्याय कहाँ गयो?’ (फोटो फिचर)

रिपोर्ट नेपाल | 2018 Sep 15 | 03:25 pm 2523

काठमाडौं, भदौ ३०:  कञ्‍चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षिय बालिका निर्मला पन्‍तलार्इ न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ।

शनिबार दिउँसो माइतिघर मण्डलाबाट शुरु भएको प्रदर्शन बानेश्वर पुगेको छ। प्रदर्शनमा स्वस्फुर्तरुपमा हजारौंको सहभागिता रहेको छ। घटनाको ५२ दिन बितिसक्‍दा पनि दोषी पत्ता लाग्‍न सकेको छैन। झनै घटनालार्इ तोडमोड गरिएको विरोधमा सरकारलार्इ दबाब दिन काठमाडौंमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा लेखक खगेन्द्र संग्रौला, पत्रकार ऋषी धमला र रवि लामीछाने, समाजसेवी शारदा चन्‍दलगायतका सयौंको उपस्थिती थियो।

उनीहरुले निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ?, ‘५० दिन नाघिसक्यो, खै त न्याय कहाँ गयो?’, मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार?, बलात्कारीलाई फाँसी दे, निर्मलालाई न्यायदे लगयतका चर्का नारा जुलुस लगाउदै विरोध जनाएका छन् । प्रदर्शनकारीले अपराधीको पहिचान गर्न नसकेको भन्दै आक्रोस समेत व्यक्त गरेको छन्।

आजै काकरभिट्टाको हनुमान मन्दिर, अर्जुनधारा, दमक ,बिराटचोक,बिराटनगर,धरानको भानुचोक, इटहरीको रेयुकाई चोक ,इनरुवा लोकतान्त्रिक चोक,राजबिराज, भगवती मन्दिर,पाँचखाल, काभ्रे समाजकल्याण चोक, नेपालगंज बि पि चोक, पोखरा मानवअधिकार चोक, भरतपुर मेलाम्ची हेलम्बु बसपार्क ,गाईघाट पिपलचोक, विरगंज घण्टाघर,प्युठान, पाल्पा, जुम्ला, हेटौडा बुद्ध चोक, सिराहाकन्चनपुर, जनकपुर रामानन्द चोक र नुवाकोटको विदुर चोकमा पनि प्रदर्शन गरिएको छ।

उच्चस्तरीय छानबिन समितिले घटनाको अनुसन्धान गरिरहेकै बेला समितिका सदस्य उपसचिव विरेन्द्र केसीले समितिमा बसेर न्याय दिन नसक्ने र शक्तिशाली अपराधीबाट हत्या हुनसक्ने भन्दै राजीनामा दिएपछि घटना थप रहश्यमय बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा टेलिभिजन अन्तर्वार्तामा अपराधीलाई पक्षपोषण हुने गरी अभिव्यक्ति दिएर झूटा बोलेको चर्चा समेत सामाजिक सञ्जालमा भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.