५ सय रोपनीको गाँजा खेती फाँड्दै प्रहरी

रिपोर्ट नेपाल | 2018 Jun 26 | 12:49 pm 3397

धादिङ, असार १२: पृथ्वीराजमार्गका विभिन्‍न प्रहरी चौकीमा कार्यरत प्रहरीको नियमित कामबाहेक हरेक असार साउनमा अर्को काम थपिन्छ, दक्षिणी महाभारत लेकका विभिन्‍न बस्ती, बारी कान्ला र जुका लाग्‍ने जंगलमा उम्रेका गाँजा फँडानी गरेका छन् ।

प्रहरी चौकीलाई कहिलेकाहीं गाँजा खेती फँडानी गर्नु भन्ने आदेश मात्रै आउँछ भने कतिपय अवस्थामा प्रमुख जिल्ला अधिकारीलगायत जिल्लास्थित सुरक्षा प्रमुखसमेत आफैं गाँजा फँडानीमा खटिन्छन्। कतिपय अवस्थमा त केन्द्रीय लागूऔषध नियन्त्रणबाट समेत खटिन्छन्।

अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसर पारेर धादिङ प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय, प्रहरी उपरीक्षक डम्बर विकको नेतृत्वमा गएको गाँजा पँmडानी समूहले त्रिभुवन राजपथ छेउछाउ तसर्पुलगायतका बस्तीहरूमा गरिएको ५ सय रोपनीभन्दा बढी गाँजाखेती नष्ट गरेको छ। २ दिन लगाएर तामाङबस्ती वरपर गरिएको उक्त गाँजाखेती काटेर आगलागी गरी नष्ट गरिएको थियो। प्रमुख जिल्ला अधिकारीको समूहले उक्त गाँजा फँडानी गर्दा स्थानीयबासीलाई भेला गरी गाँजाखेती, भण्डारण र बेचबिखन कानुनी रूपमा अवैध रहेको र सो गरेबापत् कानुनले व्यवस्था गरेको कैद, जरिवानाहरूको विषयमा जानकारी गराइएको थियो।

प्रमुख जिल्ला अधिकारीको समूह मात्रै हैन एक सातदेखि राजमार्गमा कार्यरत हरेक प्रहरी चौकीका प्रहरी जवान हरेक वर्षझैं यसपाला पनि गाँजाखेती नष्ट गर्न गाउँजंगल पसेका छन्। गजुरीस्थित इलाका प्रहरी कार्यालयले २ दिन समय लगाएर गजुरी ७ स्थित तल्लो पेटारे र माथिल्लो पेटारेमा अवैध रूपमा गरिएको एक सय रोपनी गाँजाखेती नस्ट गरेर फर्केको छ।

दक्षिणी भेकमा १५ सय मिटरदेखि उचाइका हरेक बस्ती र गाउँघरमा अवैध लागूपदार्थ गाँजाखेती, बेचबिखन र तस्करी हुने गरेको छ। कतिपय बस्तीमा मकैबारी र घरबारीका डिल कान्लामा खेती नै गरिएको हुन्छ भने कतिपय बारीपाखा, डिल कान्लामा हजारौं रोपनीमा आफैं पनि उम्रेको हुन्छ। स्थानीयहरूले आफैं उम्रेको र गाईवस्तुलाई औषधि गर्न पालेको भन्ने गरे पनि सोही बोटबिरुवाबाट स्थानीयबासी गाँजा बनाएर खरिद गर्न आउने तस्करहरूलाई बेच्ने गरेका छन्।

पृथ्वीराजमार्गदेखि दक्षिण भेकका सबै लेकमा गाँजाखेती हुन्छ। नौबिसेदेखि बेनीघाट मौवा खोलासम्मका अधिकांश गाउँपाखामा यसको खेती र ओसारपसार हुने गरेको छ । तत्कालीन नौबिसे, थाक्रे, पीडा, किरान्चोक, गजुरी, तसर्पु, महादेवस्थान, बेनीघाट, जोगीमारा सबै गाविसमा गाँजाखेती हुन्छ। यी बस्तीमा जनजातिको बहुल्य छ।

दक्षिण भेकमा उत्पादित गाँजा र चरेस तस्करी, ओसारपसार गर्ने मुख्य नाका राजमार्ग नै हो । प्रतिबन्धित लागूऔषधको मुख्य बजार भारत भए पनि काठमाडौं लैजाँदै गरेका लागूऔषध पनि प्रहरीले थुप्रै पटक बरामद गरेको छ । लागूऔषध ओसारपसार गर्दा मुख्यत: विपन्न तामाङहरूको प्रयोग गरिए पनि मुख्य व्यापारी पक्राउ पर्दैनन्।

‘प्रहरीले सबैभन्दा बढी व्यापारिक सामग्री लिएर आएका ढुवानी साधनहरू फर्कने बेला लागूऔषध लिएर फर्कने गरेको पाइएको छ, चालू आर्थिक वर्षमा मात्रै २१ घटनामा ३७ जना व्यक्तिबाट ३ सय ३५ केजी चरेस, १ सय ६६ केजी गाँजा र अन्य लागूऔषध बरामद गरी मुद्दा चलाइएको’ जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर विश्वकर्माले बताए। कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.