५ खर्ब ८१ अर्ब ९२ करोड ४० लाख रुपैयाँ कर संकलन

रिपोर्ट नेपाल | 2021 Mar 19 | 07:40 am 2325

काठमाडौं, चैत ६ः चालू आर्थिक वर्ष २०७७-७८ को फागुन पहिलो सातासम्ममा कुल लक्ष्यको ५७ दशमलव ५२ प्रतिशत राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको बजेटले कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख राजस्व संकलनको लक्ष्य लिएको थियो । जसमध्ये बिहीबारसम्ममा ५ खर्ब ८१ अर्ब ९२ करोड ४० लाख रुपैयाँ संकलन भएको छ ।

सात महिनाको अवधिमा सरकारले करबाट मात्र ५८ दशमलव ९२ प्रतिशत राजस्व संकलन गरिसकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार करबाट मात्र बिहीबारसम्ममा ५ खर्ब ३७ अर्ब ९४ करोड १५ लाख संकलन भएको छ । सरकारले कर राजस्वबाट ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख उठाउने लक्ष्य लिएको थियो । गैरकरतर्फबाट भने लक्ष्यको ४४ दशमलव ५१ प्रतिशत मात्र सफलता मिलेको छ । कुल ९८ अर्ब ८० करोड ९४ लाखको लक्ष्य रहेकामा ४३ अर्ब ९८ करोड २५ लाख मात्र उठेको छ ।

आर्थिक वर्ष २०७७-७८ को माघसम्म संघीय सरकारको कुल राजस्व गत आर्थिक वर्षको सोही अवधिको कुल राजस्व ४ खर्ब ९२ अर्ब ३८ करोडको तुलनामा १ दशमलव २५ प्रतिशतले वृद्धि भई ४ खर्ब ९८ अर्ब ५२ करोड पुगेको छ । कुल राजस्वमा कर राजस्व ४ खर्ब ५८ अर्ब १० करोड र गैरकर राजस्व ४० अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा अन्य प्राप्तिसहित कुल प्राप्ति ५ खर्ब ३० अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

अर्थ मन्त्रालयका अनुसार माघसम्मको लक्ष्यको तुलनामा ९६ दशमलव ५८ प्रतिशत राजस्व संकलन भएको छ । माघसम्ममा ५ खर्ब ४९ अर्ब ५१ करोड संकलन गर्ने सरकारको लक्ष्य थियो । जसमा ५ खर्ब २४ अर्ब ७६ करोड मात्र उठेको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्ष माघसम्ममा ५ खर्ब ३० अर्ब ७२ करोड उठेको थियो ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको माघसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भन्सार महसुलमा २१ दशमलव १ प्रतिशतले वृद्धि भएको छ भने आयकरको संकलनमा ९ दशमलव ६ प्रतिशतले कमी आएको छ । माघसम्ममा १ खर्ब ८ अर्ब २३ करोड भन्सार महसुल उठेको छ । गत वर्षको सोही अवधिसम्मा ८९ अर्ब ३९ करोड मात्र उठेको थियो । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.