४६ दिनपछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला

रिपोर्ट नेपाल | 2019 Mar 16 | 02:34 pm 2680

पोखरा, चैत २ : आन्दोलनरत विद्यार्थीका कारण ४६ दिनदेखि बन्द गण्डकी मेडिकल कलेजमा लगाइएको ताला खुलेको छ । यसअघि शुक्रबार नै ताला खोल्ने विषयमा सहमति भएको थियो तर कलेज प्रशासनको प्रतिनिधित्व नभएपछि ताला खुलेको थिएन । शनिबार पनि प्रशासनको प्रतिनिधित्व भएन तर, प्रहरीको रोहबरमा ताला खुलाइएको हो ।

१६ ब्याचका एमबीबीएस अध्ययनरत विद्यार्थीको परिक्षा चैत २१ गतेदेखि सुरु हुँदैछ । विद्यार्थीले फर्म भर्ने र परिक्षामा सहभागी हुनको लागि ताला खुलाउन सहमत भएका हुन् । अहिलेको परिक्षा दिन नपाए उनीहरुको इयर लस हुनेछ । सो ब्याचमा ५३ जना विद्यार्थी अध्ययनरत छन् ।

फर्म भर्ने र परिक्षामा सहभागी हुने अध्ययनरत विद्यार्थी अनित सिन्हाले बताए । तर, कलेज प्रशासनबाट एक जना पनि व्यक्तिको प्रतिनिधित्व नभएपछि उनीहरुले फर्म भर्न पाउने वा नपाउने भन्ने विषय भने अनिश्चित छ ।

चैत ८ गतेसम्म फर्म भर्ने र १२ गतेभित्र परिक्षा नियन्त्रण कार्यालयमा पठाउनु पर्ने सूचना त्रिविले निकालेको छ । उक्त मितिसम्म फर्म नपठाए विद्यार्थी परिक्षाबाट वञ्चित हुनेछन् । कलेजले फर्म नबुझाए विद्यार्थीले त्रिविलाई नै सम्पर्क गर्ने बताएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले पनि शुक्रबार त्रिविसँग समन्वय गर्न सहयोग गर्ने बताएका थिए ।

यस्तै, प्रहरीको रोहबरमा ताला खोलिएपछि अबको जिम्मा कलेज प्रशासनकै हुने विद्यार्थीको भनाइ छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पनि कलेजको सम्पत्ति कलेज प्रशासनले नै हेर्नुपर्ने जनाएको छ ।
गत बुधबार उच्च अदालत पोखराले दुई दिनसम्म बहस सुनेर कानुन अनुसारको कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई आदेश पठाएको छ । विद्यार्थीले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालक विरुद्ध उजुरी दिएका छन् ।

सोही उजुरीका आधारमा फागुन २३ गते जिल्ला अदालत कास्कीको अनुमतिले जिल्ला प्रहरी कार्यालयले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सोही दिन कलेजका पूर्व सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.