काठमाडौँ, असोज २३ : आकर्षक व्याज र झुटा प्रलोभनमा देखाई रु ४ कारोड १७ लाख ५८ हजार ७ सय १९ रुपैयाँ ठग्ने गिरोहलार्इ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेकाे छ ।
काठमाडौं महानगरपालिका वडा. नं १३ ताहाचल बस्ने तत्कालिन साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक समिति सदस्य अजय महर्जनलार्इ साेमबार सिआइबीले पक्राउ गरेकाे हाे।
सिआइबीका अनुसार २०७२/०१/१७ गतेको फैसलाले महर्जनलार्इ रु ४० लाख ७८ हजार ८८१ जरिवाना सजाय सुनाएकाे थियाे । उक्त फैसलापछि महर्जन फरार रहेका थिए ।
पक्राउ परेको महर्जनलाई आजै फैसला कार्यान्वयनका लागि काठमाडाैँ जिल्ला अदालतमा पेश गरिएपछि अदालतको आदेशले केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।
अजय महर्जनसमेतका पदाधिकारीले आकर्षक व्याज र उपहारको प्रलोभन देखाई विभिन्न मितिमा निक्षेपकर्ताबाट सङ्कलित रकम रु चार करोड १७ लाख ५८ हजार ७१९ हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरीद गरेको तथा निक्षेपकर्ताको सावा व्याजसमेत फिर्ता नगरी ठगी गरेका थिए । यसअघि नै ठगीमा संलग्न रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई पक्राउ गरिसकिएको ब्युरोले जनाएको छ ।