३६० केजी चरेससहित तीन भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 10 | 02:38 pm 1574

धादिङ, माघ २७ : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ।

काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर ५५ एम ९४८४ नं को भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए।

भारतीय ट्रकलाई लागुऔषध नियन्त्रण ब्यूरोले चेकजाँच गरेको थियो। ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बम बनाइ ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद गरेको हो।

प्रहरीले चरेस कारोबारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश निवासी गाडी चालक ६४ वर्षीय ओम प्रकाश र साहु भारत मोतिहारी जिल्ला तुमरीय टोल रक्सोलका ३४ वर्षीय गुलाफ खान रहेका छन्। प्रहरीले ट्रक सहचालक समेत पक्राउ गरेको भए पनि नाम खुलाएको छैन।

उनीहरूलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ। सवारी साधन र लागुऔषध बरामद गरिएकाले लागुऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ। जिल्लामा प्रतिबन्धित लागुऔषध चरेस यति ठूलो मात्रामा बरामद गरिएको पहिलो पटक हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.